उर्लाबारी समाचारदाता
उर्लाबारी, साउन २६ गते । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्ड विस्तारमा पूूर्वनिर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन । सबैभन्दा बढी भौतिक प्रगति भएको प्याकेज नम्बर २ को निर्माण पूूर्वनिर्धारित लक्ष्य अनुसार हालसम्म ३५.७८ प्रतिशत हुनुपर्ने थियो तर प्याकेज दुईको झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडकको काम २६.१० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका आयोजना प्रमुख जगत प्रजापतिका अनुसार दोस्रो प्याकेज क्षेत्रमा ४० किलोमिटर सडक पर्छ । यस क्षेत्रमा लगभग १८ किलोमिटर जङ्गल क्षेत्र रहेको छ । नौ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको यस खण्डमा हालसम्म तीन किमी सडक कालोपत्रे भइसकेको छ । उहाँले दिएको जानकारी अनुसार दोस्रो प्याकेजमा २०.८८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
मोरङको गोठगाउँदेखि सुनसरीको
लबिपुरसम्मको सडकको काम कछुवा गतिमा सञ्चालन भइरहेको छ । १०.७६ किलोमिटर खण्ड चार अर्ब सात करोड ३५ लाख रुपियाँमा ठेक्का लागेको हो । बिचमा इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र पर्छ । यो क्षेत्रमा १२४ वटा घरटहरा हटाउन र विद्युत् पोल स्थानान्तरण गर्न नसक्दा हालसम्म १२.१२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पूर्वनिर्धारित लक्ष्य अनुसार प्याकेज नम्बर ३ को काम हालसम्म २६.१६ प्रतिशत सम्पन्न भइसक्नुपर्ने थियो । हाल इटहरी उपमहानगरको विस्तार क्षेत्रमा परेका घर भत्काउने र साइट क्लियर गर्ने काम धमाधम भइरहेको आयोजनाका सूचना अधिकारी पल्लव श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार पाँचौँ प्याकेजको काम भने लक्ष्यभन्दा धेरै भएको छ । यो प्याकेजमा पुल निर्माणको ठेक्का रहेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार पूर्वनिर्धारित लक्ष्य २३.८ प्रतिशत थियो तर हालसम्म २५.८ प्रतिशत सम्पन्न भएको छ । पाँचौँ प्याकेजको वित्तीय प्रगति २२.५० प्रतिशत भएको छ । पाँचौँ प्याकेजको ठेक्कामा पश्चिमतर्फका तीन वटा तीन सय मिटरभन्दा लामा पुल रहेका छन् । रतुवा, बव्रmाहा र लोहोन्द्रा पुलको ठेक्का पाँच अर्ब ६५ करोड २६ लाख रुपियाँमा लागेको हो । जहाँ निर्माण क्षेत्र खाली छ, त्यहाँ काम लक्ष्य अनुसार नै भइरहेको छ । निर्माण क्षेत्र खाली गर्न नसकिएको स्थानमा समस्या उत्पन्न भएको छ ।
विगतमा अर्धसहरी क्षेत्र मानेर डिपीआर भई काम भइरहेको स्थानमा स्थानीय पालिकाले पूर्ण सहरी क्षेत्रको मापदण्ड अनुसार काम गरिदिन आग्रह गरेपछि केही स्थानमा अन्योल सिर्जना भएको छ । फरक फरक भूगोलमा फरक फरक ढङ्गका अन्योल सिर्जना भएपछि आयोजनाले ती समस्या समाधान गर्न तत्कालै सम्बन्धित मन्त्रालयमार्फत कारबाही अघि बढाएको छ ।
पथरीशनिश्चरे नगरपालिकाले नगरको मुख्य बजार क्षेत्रलाई पूर्ण सहरी क्षेत्रको मापदण्ड अनुसार निर्माण गर्न माग गरेको छ । नगरले ३३ मिटर कायम भएकोमा अब ५० मिटरको सडक बनाई सडक विस्तार गरिदिन माग गरेको हो । यस्तै सोही नगरपालिकाको वडा नं. १० को डाँस र मोरङ्गीखोलाबिचको आठ सय मिटर सडक व्यक्तिको जग्गामा रहेको छ । ४२ जना जग्गाधनीको तीन बिघा १५ कट्ठा १५ धुर जग्गाको विवाद समाधान नभएसम्म उक्त क्षेत्रमा काम अघि नबढाउने सहमति जिल्ला प्रशासन कार्यालय मोरङसँग भएको थियो । आयोजनाले सडक विभाग र नापी विभागसँग जग्गा हालसाबिक गर्ने विषयमा छलफल गरिरहेको सूचना अधिकृत पल्लव श्रेष्ठले जानकारी दिनुभयो ।