साहारा लिम्बू
फुङलिङ, साउन २५ गते । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा आज पोखरा र झापाबिच प्रतिस्पर्धा हुने भएको छ । क्वाटर फाइनलअन्तर्गत आइतबारको दास्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको हो ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि दुवै टिमले राष्ट्रिय खेलाडीलाई मैदानमा उतार्ने भएका छन् । आज विजयी सुरुआत गर्ने टिमले साउन २७ गते हुने क्वाटरफाइनको अन्तिम खेलमा सिरहा र पाँचथर बीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।
यस्तै हिजो सम्पन्न भएको पहिलो उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै सुनसरी गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजकलाई २–१ गोल अन्तरले पराजित गर्दै सुनसरीको द योङ ब्रदर्श क्लब इटहरीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको २६ औं मिनेटमा आयोजकको तर्फबाट सन्जय श्रेष्ठले गोल गर्नुहुँदै टिमलाई अग्रता दिलाउनु भएको थियो । तर दोस्रो हाल्फको ७० औं मिनेटमा सुनसरीका निरज खड्काले पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याउन भएको थियो । यस्तै पुन खेलको ७४ औं मिनेटमा सुनसरीका योगन राईले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाउन सफल हुनुभएको थियो । खेल अवधि भरि आयोजकले उत्कृष्ट प्रहार गरेपनि कुनै गोल हुन नसक्दा आयोजक पराजित हुन पर्यो । अब सुनसरीले सोमबार हुने भारत र काठमाडौँबिचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
साउन ३१ गते हुने प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।