• २५ साउन २०८२, आइतबार

एक सय एकाउन्नलाई कृषि कर्जा

blog

धनगढी समाचारदाता

धनगढी, साउन २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशका १५१ कृषकलाई कृषि कर्जा अनुदान प्रदान गरेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सरकारले किसानलाई कृषि कर्जा अनुदान प्रदान गरेको हो । 

एकबर्से कार्यकालमा प्रदेश सरकारले ९७ लाख रुपियाँ कृषि कर्जा अनुदान किसानलाई दिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो । “यसबाट प्रभावित भएर कृषकले कृषि व्यवसायमा २३ करोड ४७ लाख रुपियाँ लगानी गरेका छन्,” उहाँले भन्नुभयो । 

प्रदेश सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीमा एक सय रोपनी र दार्चुलामा १२.५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गरेको छ । यसै गरी डोटीमा सुन्तला, बाजुरामा ४.१६ हेक्टर क्षेत्रफलमा ओखर खेती विस्तार भएको जनाइएको छ । डडेलधुरामा २५० वर्ग किलोमिटर र कञ्चनपुरमा ४० हेक्टर जमिनमा तरकारी खेती विस्तार गरेको जनाइएको छ । 

कैलालीमा तरकारी बिउ, कञ्चनपुरमा ४० हेक्टरमा तरकारी खेती र बझाङमा तरकारी, आलु गरी नौ वटा ब्लक स्थापना भएको प्रदेश सरकारले जानकारी दिएको छ । यसै गरी अछाममा तीन हेक्टर, बझाङमा १५ हेक्टर, बैतडीमा नौ हेक्टर गरी २५ हेक्टर जमिनमा सुन्तला खेती प्रवर्धन गरेको सरकारले जनाएको छ । यस्तै अछाममा चार, दार्चुलामा एक गरी पाँच हेक्टर जमिनमा कागती बगैँचा स्थापना गरिएको छ । 

कृषि क्षेत्रको आधुनिकीकरणका लागि एक वर्षको अवधिमा सरकारले ७४ थान पावर टिलर, ४७९ थान मिनी टिलर, चार वटा मल्टिक्रप थ्रेसर, ८९ वटा कर्न सेलर किसानलाई वितरण गरेको छ । यसै गरी ३० वटा कम्बाइर राइस मिल, २४५ वटा स्यालो ट्युबेल, १४ वटा धान थ्रेसर, सात वटा मिनी थ्रेसर, २५ वटा रोटाभेटर, १४ वटा रिपर र सात वटा उखु पेल्ने मेसिन तथा उपकरण किसानलाई दिइएको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो । 

एक वर्षको अवधिमा प्रदेश सरकारले एक हजार ५४७ साना सिँचाइ आयोजनाबाट ३७८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ । प्रदेशका पहाडी जिल्लामा जलवायुमैत्री नमुना गाउँ र प्राङ्गारिक मिसन कार्यक्रम सञ्चालन गरी कृषकमाझ जलवायु अनुकूलित प्रविधि पुर्‍याएको सरकारले जनाएको छ । 

यस्तै सात हजार ४३६ गाई, तीन हजार ५५ भैँसी र ३६३ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । १६ लाख २९ हजार २२८ पशुलाई खोप र एक लाख ३२ हजार ७५३ पशुको उपचार गरिएको प्रदेश सरकारले जानकारी दिएको छ । यसै गरी डडेलधुरा, बैतडी, कञ्चनपुर, कैलाली, दार्चुला, अछाम र बझाङमा एक/एक गरी आठ वटा बाख्रा ब्लक सञ्चालन गरिएको छ । 

पशुमा देखिएको महामारीजन्य रोगविरुद्ध खोप कार्यक्रम अन्तर्गत पशुसेवा विभागसँगको सहकार्यमा दुई लाख ६७ हजार बाख्रालाई पिपिआर खोप र ४८ हजार चौपायालाई ‘लम्पी स्किन’ विरुद्धको खोप दिइएको जनाइएको छ ।