• २३ साउन २०८२, शुक्रबार

आहा ! पाँचपोखरी

blog

पाँचपोखरीमा अवस्थित पाँच कुण्ड।

विदुर आचार्य

चौतारा, साउन २३ गते। जनैपूर्णिमाको अवसर पारेर सिन्धुपाल्चोकको पाँचपोखरीमा लाग्ने ऐतिहासिक मेला भर्न देशभरबाट हजारौँ तीर्थयात्री र पर्यटकको चाप बढ्दै गएको छ।  समुद्री सतहदेखि करिब ४२ सय मिटर उचाइमा रहेको यो धार्मिक तथा पर्यटकीय गन्तव्यमा यो वर्ष एक साता अघिदेखि नै आगन्तुकको आवतजावत सुरु भइसकेको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का वडाध्यक्ष निमछिरिङ तामाङले जानकारी दिनुभयो। 

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने पाँचपोखरी पाँचवटा पवित्र कुण्ड रहेका छन्। भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड यहाँका आकर्षण हुन्। स्कन्ध पुराणको हिमवत् खण्डमा वर्णन गरिएको यो तीर्थस्थललाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) बराबरको महत्त्व दिइएको पाइन्छ। साउन शुक्ल एकादशीदेखि जनैपूर्णिमासम्म यहाँ विशेष मेला लाग्ने गरेको छ। 

काठमाडौँबाट मेलम्ची हुँदै थाङपालधाप, भोताङसम्मको सडक यात्रा, त्यसपछि करिब १२ घण्टाको पैदल यात्रा पार गरेर तीर्थयात्री पाँचपोखरी पुग्ने गर्दछन्। यो यात्रा कठिन भए पनि हरियाली, खोला, झरना, गोठ, चौंरीपालन र पहाडी ग्रामीण जीवनशैलीको अनुभवले सबै थकान भुलाउने गर्छ। 


पोखरी क्षेत्र इन्द्रावती नदीको उद्गमस्थलसमेत हो। प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक र धार्मिक सम्पदाले भरिएको पाँचपोखरी क्षेत्र वर्षभर पर्यटकको गन्तव्य बने तापनि जनैपूर्णिमाको समयमा भने विशेष मेला लाग्ने भएकाले तीर्थयात्रीको संख्या उल्लेखनीय हुने गरेको छ। 

गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार, मेला अवधिमा आगन्तुकको सहजताका लागि बाटो, आवास, स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारमा विशेष ध्यान दिइएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताको संगमस्थल पाँचपोखरी एक पटक पुगेपछि हरेक वर्ष फर्केर जान मन लाग्ने तीर्थ-पर्यटन स्थल बन्न पुगेको छ।