वालिङ समाचारदाता
वालिङ (स्याङ्जा), साउन २३ गते । फोहोरमैला व्यवस्थापनमा भइरहेका सकारात्मक र उदाहरणीय कार्यको जानकारी लिनका लागि बङ्गलादेशको टोली यहाँको वालिङ नगरपालिकामा आइपुगेको छ । बङ्गलादेशबाट आएको टोलीले फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको वालिङ नगरपालिकाको सरसफाइ केन्द्रको स्थलगत अनुगमन तथा असल अभ्यासको आदानप्रदान गरेको हो । दिशाजन्य लेदो फोहोर व्यवस्थापनकाबारेमा जानकारी लिन वालिङमा आएको प्राडा रवस्हन मम्ताजले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनमा राम्रो काम गर्दै आएको सुनेका थियौँ, अहिले प्रत्यक्ष हेर्न पाइयो ।” फोहोरलाई स्रोतका रूपमा प्रयोग गर्ने वालिङको तरिका साह्रै राम्रो लागेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशमा नै पहिलो पटक दिशाजन्य लेदो व्यवस्थापनमा पालिकाले काम गरिरहेको नगरउपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले इन्फो नामक संस्थासँग मिलेर यसमा काम गरिरहेको छ ।” बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजिका प्राध्यापकसहित छ जनाको टोलीसँग वालिङका जनप्रतिनिधिले सिकाइ आदानप्रदानसमेत गरेका छन् ।
नमुना सिकाइ केन्द्र बन्दै
नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन् । देशका विभिन्न पालिकाको टोली मात्रै होइन, विदेशबाट समेत हेर्न आउने गरेका नगरप्रमुख कृष्ण खाणले जानकारी दिनुभयो ।
नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रका रूपमा स्थापित हुँदै गएको हो । स्मार्ट सिटीको अवधारणानुरूप अगाडि बढ्दै गरेको पालिकाले फोहोरलाई स्रोतका रूपमा लिएको छ । पालिकाले एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।