• २३ साउन २०८२, शुक्रबार

मुस्ताङमा फलफूल खेती : आफूखुसी स्याउ टिप्न नपाइने

blog

मुस्ताङको स्याउ बगैँचामा किसान ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), साउन २३ गते । मुस्ताङको प्रमुख उत्पादन स्याउलाई बोटबाट टिप्नका लागि पुरानै समयतालिकालाई कायम गरिएको छ ।  स्वादिलो स्याउका रूपमा पहिचान बनाएको मुस्ताङबाट काँचो स्याउ बजारमा लैजाँदा पहिचान गुम्ने भन्दै जात र गुणका आधारमा बजारमा पठाउने तालिकालाई कार्यान्वयन गर्न कृषकलाई अनुरोध गरिएको छ । आकारप्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको कृषि ज्ञान केन्द्र मुस्ताङका सूचना अधिकारी शिवगणेश चौधरी कुर्मीले बताउनुभयो । 

सूचना अधिकारी कुर्मीले भन्नुभयो, “व्यापारीले बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै पुरानै समयतालिका कायम गरिएको छ । हामीले काँचो स्याउ टिपेर बजारमा लैजाँदा कृषकलाई मात्रै होइन, समग्रमा स्याउ उत्पादन हुने जिल्लालाई नै असर गर्छ भन्ने सन्देश प्रवाह गरेका छौँ ।” 

उच्च घनत्वको गाला प्रजातिका स्याउ आगामी भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको असोज १ गतेदेखि टिप्ने समयतालिकालाई नै यथावत् राखिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताउनुभयो । 

प्रमुख गुरुङले समयभन्दा अगाडि स्याउ टिपेर बजार लैजाने प्रचलनले स्याउको गुणस्तर र बोटको आयुसमेत घट्ने भएकाले कार्यतालिकालाई अनिवार्य गरिएको बताउनुभयो । अघिल्लो वर्ष यो तालिका कार्यान्वयनमा ल्याइएको थियो । स्याउ टिप्ने समयतालिकाको कार्यान्वयनसँगै कृषकले तालिका अनुसार स्याउ बजारमा लगेका थिए । जसका कारणले मुस्ताङको स्याउ बजारमा गुणस्तरीय स्याउका रूपमा जाने गरेको छ । 

तापक्रम वृद्धिका कारण स्याउमा छिटो गुलियो पस्ने गरेकोले स्थानीयबाहेक गाला प्रजातिका स्याउ र रिङरोट जातको स्याउ टिप्ने समय अगाडि सरेको छ । मुस्ताङमा उत्पादित स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ । सबै प्रजातिका स्याउलाई एउटै समय तोक्दा छिटो पाकेका स्याउको गुणस्तरमा कमी आउने भएकाले छिटो पाकेका स्याउलाई भदौ महिनामै टिपेर बजार पठाउन पकेट क्षेत्रका कृषकको सुझाव थियो । 

यस वर्ष अनुकूल मौसमसँगै बगैँचा व्यवस्थापन, रोग किराको समस्या कम रहेको अवस्थामा उत्पादन बढ्ने र ढुवानीमा समेत असोजपछि सहज हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मुस्ताङमा स्थानीय स्याउको खेती ८३० हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसमध्ये ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले छ हजार ७८ मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ । प्रतिहेक्टर १०.७४ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । त्यसै गरी उच्च घनत्वको स्याउ खेती ६० हेक्टर क्षेत्रफलमा फैलिएकोमा आठ हजार ४९६ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । उच्च घनत्वको स्याउ प्रतिहेक्टर १८.४७ मेट्रिक टन फल्ने छ । मुस्ताङका बगैँचामा देशभरबाट व्यापारीले बगैँचामा स्याउ नपाक्दै पेस्की लिएर खरिद गर्ने गरेका छन् ।