• २३ साउन २०८२, शुक्रबार

नेपाल–चीनबिचका दुई नाका छ महिनाका लागि खोल्न माग

blog

चीनको स्वशासित ह्यजिमारको हाटबजार लाग्ने ठाउँ । तस्बिर : हरिकृष्ण ऐडी

मुगु समाचारदाता

मुगु, साउन २३ गते । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेपाल–चीन सीमामा रहेको नाक्चेलाग्ना नाका तीन साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द रहेको उक्त नाका यही साउन २५ गतेदेखि भदौ १० गतेसम्म खुला रहने मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार गृह मन्त्रालयको पत्रमा मुगुको नाक्चेलाग्नाको ह्यजिमार क्षेत्रमा दुईपक्षीय व्यापार मेलाका लागि साउन २५ गतेदेखि भदौ १० गतेसम्मका लागि खुला गरिएको छ । चीनको स्वशासित ह्यजिमार क्षेत्रमा आउजाउ गर्नलाई सीमा प्रवेशका लागि हालसम्म पाँच सय जानाले नवीकरण र नयाँ सीमा पास लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । 

नाका खुला गरिने समयावधिभर नेपालतर्फका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । नाक्चेलाग्ना नाका भएर यहाँका स्थानीय बासिन्दादेखि छिमेकी जिल्ला जुम्ला र हुम्लाका बासिन्दाले घरायसी आवश्यक सामग्री खरिद गर्न चीनको स्वशासित क्षेत्र ह्यजिमारको हाटबजारसम्म जाने गरेका छन् । नाक्चेलाग्ना नाका वर्षको एक पटक मात्र खु्ल्ने गरेको मुगुमकार्मारोङ गाउँ पालिकाका–४ का स्थानीय पेमाजुङ लामाले बताउनुभयो । यहाँका नागरिकलाई सहजता गर्नलाई कम्तीमा छ महिनासम्म नाक्चेलाग्ना नाका खोल्न माग गर्दै हाटबजार नियमित रूपमा सञ्चालन हुँदा यहाँका नागरिकलाई सहजतासँगै स्थानीयले रोजगारी पाउने उहाँले जनाउनुभयो । 

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार चीनको स्वशासित ह्यजिमारको हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, घिउ, लत्ताकपडालगायतका सामग्री किनबेच हुने गरेको छ । यो नाका छ महिनासम्म सञ्चालन गर्नका लागि सहजीकरण गरिदिन मुगुमकार्मारोङ गाउँपालिकाले नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको तीन वर्ष बितिसक्दा पनि यी निकायबाट अहिलेसम्म कुनै पनि जानकारी नआएको बताइएको छ । 

यो नाका मुगुमकार्मारोङ गाउँपालिकामा पर्दछ । मुगुमकार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष च्यावा लामाले दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउनुहुन्छ । नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चड र चौरीगाईंको सहयोगमा व्यापार गर्ने गर्छन् । सदरमुकाम गमगढीबाट नाक्चेलाग्ना नाकासम्म ८७ किलोमिटर सडक बनाउने कार्य २०६३ सालदेखि सुरुवात गरिए पनि हालसम्म १७ किलोमिटर सडकको ट्र्याक खोल्ने काम मात्र भएको छ । नाक्चेलाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो । 

खुल्यो थिङ थिङ नाका 

चङ्खेली समाचारदाताका अनुसार कोरोना महामारीले बन्द भएको हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेपाल र चीन सीमा डोन्मो थिङ थिङ नाका सात वर्षपछि खुलेको छ । नाका खुलेसँगै १५ दिनका लागि टाँकेमा हाटबजार पनि खुलेको हो ।

परम्परागत रूपमा नुन, तेल, घिउ, चिया, मैदा, चामल, च्याङ्ग्रा भित्रिने यो नाका बन्द हुँदा जिल्लाका चङ्खेली, सर्केगाड, अदानचुली, ताँजाकोट गाउँपालिकाका नागरिकलाई समस्या हुने गरेको थियो । यस वर्ष खुलेपछि स्थानीयवासी दुई दिनको पैदलपछि सदरमुकाम सिमकोट आएर अस्थायी सीमापास लिएर चीनको तिब्बत जाने चाँजोपाँजो गर्न थालेको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँका रूपबहादुर तामाङले बताउनुभयो ।