• ३१ वैशाख २०८३, बिहिबार

शुक्लागण्डकीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण

blog

शुक्लागण्डकी नगरपालिकाले ल्याएको फोहोर प्रशोधन उपकरण । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन २३ गते ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने उद्देश्य लिएर फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ । सेती किनारमा फोहोर बिर्सजन गर्दा आलोचना खेप्दै आएकोमा तीन महिना भित्रै केन्द्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको हो ।

नगरपालिकाले फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता गरी अघि बढेको छ । जसअन्तर्गत शुक्लागण्डकी नगरपालिका–५ कसेरीमा फोहोरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान तदारुकताका साथ भइरहेको छ ।  वातावरण संरक्षण गर्न र फोहोरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, सूर्य नेपाल र ग्रिन रोड प्रालिबिच फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता भइ काम भइरहेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । सम्झौतामा फोहोरमैला प्रशोधनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउने, फोहोर सङ्लन गरी प्रशोधन केन्द्रसम्म नगरपालिकाले पुर्‍याउने र केन्द्रमा फोहोरको वर्गीकरण तथा प्रशोधन ग्रिन रोड प्रालिले गर्नेगरी सम्झौता भई काम भइरहेको पण्डितले बताउनुभयो ।

नगरप्रमुख पण्डितले भन्नुभयो, ‘‘नगरलाई स्वच्छ र सफा बनाउने अभियानमा छौं जसअन्तर्गत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउन जुटका हौं ।”

सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहोरमैला प्रशोधनका विभिन्न यन्त्रउपकरण ल्याइएको नगरपालिकाले जनाएको छ । असोजभित्र फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको नगरपालिकाले जनाएको छ । मेशिन जडानको काम धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो । टोलविकास संस्थासँगको सहकार्यमा घरबाटै  कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।

लामगादेका अनुसार गत वैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबिच फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता लगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम तदारुकताकासाथ भइरहेको छ । ‘भेर्मी कम्पोस्ट पिट’, ‘अर्गानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको छ ।

दस वर्षे अवधिका लागि फोहोरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले दुई करोड पाँच लाख रुपियाँ लगानी दिनेछ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहोरमैला व्यवस्थापनका विभिन्न यन्त्रउपकरण खरिद गरेर जडान हुनेछ । शुक्लागण्डकीले फोहोर व्यवस्थापनको जिम्मेवारी ग्रिन रोड प्रालिलाई दिईएको छ ।

असोजदेखि फोहोर प्रशोधनको काम सुरु हुनेछ । नगरपालिकाले कसेरीमा फोहोरमैला सङ्कलनका लागि ट्रष्ट निर्माण गरिसकिएको छ । ट्रष्ट निर्माणका लागि २४ लाख ७० हजार ८५१ रुपियाँ खर्च भएको छ । २०८०/८१ मा पनि कम्पाउण्ड र ट्रष्ट निर्माणमा ५२ लाख ५९ हजार ५३ रुपैयाँ लगानी भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा फोहोरमैला सङ्कलन केन्द्रसम्म पुग्ने सडक सञ्जालको स्तरोन्नती गर्न ५२ लाख रुपियाँ खर्च गरिएको थियो । गत आर्थिक वर्षमा पनि फोहोरमैला व्यवस्थापन केन्द्रमा सेती नदीले कटान गरेपछि करिब ४५ लाख रुपियाँ खर्चेर तटबन्धन गरिएको छ ।