• २३ साउन २०८२, शुक्रबार

सामाजिक विकासमन्त्रीको एक वर्ष

घरमा शून्य सुत्केरी अभियानका लागि बजेट

blog

ललित बसेल

सुर्खेत, साउन २३ गते । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफूले जिम्मेवारी समालेको एक वर्षको अवधिमा गरेका प्रगति सार्वजनिक गर्नुभएको छ । ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नाम पुस्तक विमोचन गर्दै उहाँले मन्त्रालय समालेको एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । उहाँले यो अवधिमा कर्णालीमा घरमै शून्य सुत्केरी हुने अभियान गर्न १० वटै जिल्लामा बजेटको व्यवस्थापन गरेको बताउनुभयो । 

मन्त्रालयका अनुसार कर्णालीमा करिब ३५ प्रतिशत महिला घरमै सुत्केरी हुने गर्दछन् भने मातृ मृत्युदर १७२ छन् । ६५ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेका छन् । ३५ प्रतिशत महिला घरमै सुत्केरी हुँदा आमा र बच्चाको मृत्यु हुनेलगायतका जोखिम बढेको हुँदा अब घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न अभियान थाल्नुपर्ने र त्यसका लागि जिल्ला जिल्लामा बजेटको व्यवस्थापन गरिएको मन्त्री भण्डारीले बताउनुभयो । शून्य सुत्केरी अभियान थाल्न प्रत्येक जिल्लामा ४५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । उहाँले यो अभियानले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न सहयोग गर्ने विश्वास लिएको बताउनुभयो । 

यसै गरी यो एक वर्षको अवधिमा कडा रोगको ‘मेजर अपरेसन’ गरेका १३१ जना बिरामीलाई प्रतिबिरामी एक लाख रुपियाँसम्मको उपचार सहायता प्रदन गरिएको छ । आगामी आर्थिक वर्षमा कडा रोगमा नयाँ रोग थप गरी रकम उपलव्ध गराइने उहाँले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता १० हजारबाट वृद्धि गरी १२ हजार बनाइएको, १० वटै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा तथा सूचनासम्बन्धी मापदण्ड निर्माण गरिएको, जिल्लाका स्वास्थ्य संस्थामै मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा उपचारको व्यवस्था मिलाइएको छ । 

यस्तै नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी प्रदेशभर २२ हजार ७५१ जनाको स्वास्थ्य परीक्षण गरी चार हजार ७५८ जनामा उच्च रक्तचाप, मधुमेह, मिर्गाैला जस्ता दीर्घरोगको पहिचान गर्न सफल भएको, अस्पतालमा नवजात शिशुको विशेष स्याहारका लागि एसएनसियु सेवा सञ्चालन गरिएको जस्ता स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी मन्त्री भण्डारीले दिनुभयो । यस्तै शिक्षातर्फको उपलब्धिमा १० बर्से शिक्षा योजनाको मसौदा तयार भएको, शिक्षक प्रोत्साहन पुरस्कार वितरण गरिएको, विद्यालयको भौतिक पूर्वाधार विकास गरिएको, धार्मिक विद्यालयको समस्या पहिचान गरी समाधानका लागि कार्यदल गठन भइ प्रतिवेदन प्राप्त गरी आवश्यक काम थालिएको पुस्तकमा उल्लेख छ । 

सामाजिक विकासतर्फ बालविवाह अन्यका लागि प्रादेशिक रणनीति मसौदा तयार भएको, बालबालिका हराएमा खोज्नका लागि बालबालिका खोज तलास केन्द्र सञ्चालन गरिएको छ । यसै गरी खस भाषाको शब्दकोश (खसिया आखर) प्रकाशन भएको, कर्णाली सभ्यतासँग जोडिएका अभिलेख, स्तम्भ विश्वसम्पदा सूचीमा समावेश गर्न कर्णालीका सम्पदाको पहिचान गरिएको जस्ता उपलब्धि आफ्नो एकबर्से कार्यकालमा भएको दाबी मन्त्री भण्डारीले गर्नुभएको छ ।