• २३ साउन २०८२, शुक्रबार

मातृस्वास्थ्य प्रवर्द्धन गर्न सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज

blog

सिरहा, साउन२३  गते ।  मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार एक कार्यक्रमका बीच पोषण सामग्री वितरण गर्नुभएको हो ।

नगरपालिकाले प्रत्येक महिनामा फरकफरक वडामा पुगेर सो प्याकेज वितरण गर्दै आएको छ । प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्नका साथै गर्मी र वर्षात्को समयमा हुने लामखुट्टेको प्रकोपबाट बच्न झुल पनि प्रदान गरिएको छ ।

नगरप्रमुख चौधरीले पोषण प्याकेज वितरण कार्यक्रममा भन्नुभयो, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषण अवस्था सुधार गर्नुका साथै स्वास्थ्य सेवा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो । आगामी दिनमा अझ प्रभावकारी ढङ्गले यसलाई विस्तार गरिनेछ ।”

स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवतीलाई लक्षित गरी प्याकेज वितरण गरिएको स्वास्थ्यकर्मी अमृताकुमारी महतोले जानकारी दिनुभयो । उहाँका अनुसार, “नियमित जाँचमा सहभागी हुने महिलाहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ ।”

महिला स्वास्थ्य स्वयंसेविका सुजितादेवी सिंहले यस अभियानले गर्भवती महिलाको तथ्याङ्क व्यवस्थापन र सेवाको सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रासस