बेलौरी समाचारदाता
कञ्चनपुर, साउन २३ गते । कञ्चनपुरको भीमदत्त नगरपालिकामा छाडा छोडिएका घरपालुवा जनावरको बिगबिगीले किसान हैरान भएका छन् । छाडा पशुचौपायाका कारण रातदिन पहरा दिनु परेको किसानले गुनासो गरेका हुन् । पछिल्लो समय गड्डाचौकी, सुखासाल, मजगाउँ, एरपोर्ट, भासीलगायतका क्षेत्रमा छाडा चौपायाको लामलस्कर नै देखिने गरेको छ । भीमदत्त नगरपालिकाका–१८ का किसान रघुवीर थापाले छाडा पशुचौपायाले रातभर जाग्राम बस्नु परेको गुनासो गर्नुभयो । “दिनमा चौपाया सडकमा बस्ने गरेका छन्, उहाँले भन्नुभयो, “राति खेतमा नोक्सान पु¥याउने गरेका छन् ।”
छाडा पशुचौपायाबाट अन्नबाली जोगाउन मुस्किल भएको उहाँले गुनासो गर्नुभयो । चौपाया धपाउन राति स्थानीय मिलेर जाग्राम बस्नु परेको उहाँले दुःखेसो पोख्नुभयो । भीमदत्त नगरपालिका–१६ की लक्ष्मी जोशीले चौपायाले रातदिन हैरान गरेको गुनासो गर्नुभयो । रातिको समयमा २५–३० को सङ्ख्यामा छाडा चौपाया बारीमा आउने गरेको उहाँले बताउनुभयो । राति स्थानीय मिलेर चौपाया धपाउन खटिने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।
घरको काम छोडेर छाडा चौपाया धपाउन किसानको दैनिकी नै बनेको गुनासो गर्दै आएका छन् । भीमदत्त नगरपालिका–२ की स्थानीय रक्षा बोहोराले दैनिक जसो साँझ दुई दर्जनभन्दा बढी चौपाया धपाउन जाने गर्नुभएको छ । महुलियामा आउने छाडा पशुचौपायाले धानबाली सखाप पार्ने गरेको भन्दै छाडा पशुचौपायाका लागि रातदिन पहरा दिनु परेको उहाँले गुनासो गर्नुभयो ।
भीमदत्त नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्न नसकेको भन्दै किसानले गुनासो गरेका छन् । छाडा पशुचौपायाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगर भासी क्षेत्रमा सवारी दुर्घटनासमेत बढ्दै गएको छ । बिच राजमार्गमा चौपाया ओहोरदोहोर गर्ने, साँझ, राति बास बस्ने गरेका कारण सवारी दुर्घटनासमेत बढ्दो क्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ । छाडा पशुचौपायाकै कारण दैनिक दुई÷तीन वटा सवारी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयो ।
छाडा पशुचौपायाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग, बजार तथा मुख्य सडकमा जताततै छाडा पशुचौपायाको बथान देखिन्छ । छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न नसकेको भीमदत्त नगरपालिकाले कैयौँ पटक व्यवस्थापनको प्रयास गरिएको दाबी भने गरेको छ । भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रमा झन्डै पाँच हजारभन्दा बढी छाडा पशुचौपाया छोडिएको हुन सक्ने नगरपालिकाले आकलन गरेको छ । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिसिंह धामीले छाडा पशुचौपायाको व्यवस्थापनकै लागि नगरपालिकाले विभिन्न चार स्थानमा गौशालासमेत निर्माण गरेको बताउनुभयो । नगरपालिकाको एकल प्रयासले मात्रै छाडा पशुचौपाया व्यवस्थापन गर्न सकिने अवस्था नदेखिएको सूचना अधिकारी धामीले बताउनुभयो ।
२०७५ मा वडा नम्बर १९ स्थित बागफाँटामा आठ बिघा जमिन भाडामा लिएर ४८ लाखको लागतमा नगरपालिकाले गौशाला निर्माण गरेको थियो तर अहिले सो गौशालाको उचित व्यवस्थापन भने हुन सकेको छैन । यस्तै वडा नम्बर १०, १३, र १२ मा पनि नगरपालिकाले गौशाला निर्माण गरेको नगर प्रवक्ता पदम अवस्थीले बताउनुभयो । नगरपालिकाले चौपाया व्यवस्थापनकै लागि बर्सेनि १० लाखभन्दा बढी रकमसमेत छुट्याउँदै आएको छ तर गाईले दुध दिन छोडेपछि किसानले नै पालेका चौपाया छोड्ने गरेकाले व्यवस्थापनमा चुनौती थपिँदै आएको नगरपालिकाका प्रवक्ता अवस्थीले बताउनुभयो ।