निराजन परियार
चौमाला (कैलाली), साउन २३ गते। कैलाली कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उहाँले घटनाबारे छानविन भइरहेको बताउनुभयो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको कारण झडप भएको बताउनुभयो । तीन जनाको स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उहाँको भनाइ छ ।
कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ । कैदीबन्दीबिच कुटाकुट भएपछि अहिले कैलाली प्रहरी प्रमुख बालनरसिंह राणा, डीएसपी राजकुमार सिंहले कारागार पुगेर घटनाबारे जानकारी लिनुभएको छ ।
कैलालीमा पछिल्लो समय सामुहिक झडपको असरले कारागारमा लफडा हुँदैआएको छ । जिल्लामा सामुहिक झडप गर्नेहरु कारागार चलान भएपछि कारागार भित्र लफडा हुँदैआएको बताइएको छ ।केही समयअघि कारागारका कैदीबन्दी सरुवाको विरोधमा उत्रिएका थिए ।