टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), साउन २३ गते । गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाको अगुवाइमा मिर्गौलाको डायलाइसिस सेवा थप विस्तार गरिएको छ । डेढ वर्ष अघि नगरपालिकाले भारतीय दूतावाससँग समन्वय गरेर पाँच वटा उपकरण अस्पताललाई प्रदान गरेपछि मिर्गौलाको डायलाइसिस सेवा सुरु गरिएको थियो । नगरपालिकाले अहिले थप तीन उपकरण अस्पताललाई प्रदान गरेको छ ।
अहिलेसम्म १९ जनाले मिर्गौलाको डायलाइसिस सेवा पाइरहेकोमा बढाएर ४० पुराउने लक्ष्य अस्पतालको रहेको छ । तीन डायलाइसिस मेसिनसहित एउटा एनिसथेसिया (बेहोस बनाउने उपकरण) गरेर एक करोड बढिका उपकरण अस्पताललाई प्रदान गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
नगरको नीति तथा कार्यक्रममा ‘गुल्मी अस्पताल मेरो अस्पताल’ उल्लेख गरिएकाले जनशक्ति, उपकरण र व्यावस्थापनमा सक्दो सहयोग र समन्वय भइरहेको पन्थीले बताउनुभयो । उहाँले अस्पताल बाहेक दम तथा निमोनियाका बिरामीहरुलाई घरमै सेवा दिने उद्देश्यले अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरिएको बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देखाएको चासोले स्थानीयमा उर्जा भरिएको छ । नजिक मिर्गौला डायलाइसिस सेवा नभएकाले गुल्मेलीहरु पाल्पा, बुटवल र काठमाडौँ पुग्न बाध्य थिए । गुल्मी अस्पताल तम्घासमा १० जना विशेषज्ञको डाक्टरहरुको दरबन्दी हो । जिल्ला अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु आउनै मुस्किल छ । डाक्टर आए पनि टिक्नै सकस भएकाले रेसुंगा नगरपालिकाले सुविधा थपेर विशेषज्ञ टिकाउन कोसिस गरिरहेको छ ।
नगरले गुल्मी अस्पतालमा दरबन्दी करार सेवामा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टरलाई थप सुविधा प्रदान गरिरहेको छ । बालरोग, स्त्री र जनरललाई पनि सेवा थप्ने बिषयमा छलफल भइरहेको छ । गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार अहिलेसम्म स्थायी विशेषज्ञ डाक्टरको दरबन्दीमा बालरोग, स्त्री रोग र जनरल मेडिसिन छन् । छात्रवृति करारमा दुई र दरबन्दी करारमा एक जना विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत रहेको अर्यालले बताउनुभयो ।
गुल्मी अस्पतालमा सञ्चालन भएको डायलाइसिससहित, हाडजोर्नी, स्त्री तथा बालरोग विशेषज्ञसहितको सेवाले नागरिकमा आशा र भरोसा बढिरहेको छ । विशेषज्ञ सेवा नहुँदा गुल्मी र अर्घाखाँचीका नागरिक पाल्पा बुटवल जानुपर्ने बाध्यतामा थिए । रेसुङ्गा नगरपालिका–३ का देविराम खनालले सुरुमा काठमाडौँ, बुटवल र पाल्पामा मिर्गौलाको डायलाइसिस गराउनुभएको थियो ।
अहिले तम्घासमै सेवा सुरु भएपछि घरबाटै हिँडेर आएर डायलाइसिस गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । गुल्मी अस्पतालमा प्रसुती सेवा लिनेहरुको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ म ४०७ जना प्रसुती भएकोमा २०८१/०८२ मा बढेर ७१४ पुगेको अस्पतालले जनाएको छ ।
अस्पतालमा सेवा विस्तारको काम अगाडि बढेपनि भौतिक संरचना नहुँदा समस्या भइरहेको छ । निर्माणाधिन अस्पतालको काम समयमै नहुँदा एउटा कोठामा तीन जना डाक्टरहरुले सेवा दिने अवस्थाको अन्त्य हुन सकेको छैन । भने जनशक्तिकै अभाव पनि अस्पतालले झेरि रहेको छ । गुल्मी अस्पतालमा लामो समयदेखि बेहोस बनाउने एनेस्थेसिया मेसिन र जनशक्ति छैन । केहि समय अगाडि एनेस्थेसिया विशेषज्ञ आएपनि मेसिन थिएन । अहिले नगरले मेसिन दिए पनि जनशक्ति छैन ।
रेसुङ्गा नगरपालिकाले गरिव तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र मार्फत नगरबासीलाई आँखाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाको व्यावस्था गरेको छ ।