• २३ साउन २०८२, शुक्रबार

गुल्मीको रुद्रवेणी–वामी सडक अवरुद्ध

blog

रमेश विश्वकर्मा 
गुल्मी, साउन २३ गते ।
गुल्मीको रुद्रवेणी–वामी सडक अवरुद्ध भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका–६, उल्लीखोलास्थित डहरेखोलाको पानीको बहाव बढ्दा रुद्रवेणी–वामी सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुलमीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुका अनुसार शुक्रबार बिहान करिब ६ः३० बजेको समयदेखि वर्षाका कारण डहरेखोलामा पानीको बहाव बढेको हो । पानीको बहाव बढेको कारण यस सडक खण्ड अवरुद्ध भएको उहाँले बताउनुभयो ।

यस स्थानमा इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर विकको कमाण्डमा प्रहरी टोली खटिएको छ । पानीको बहाव कम नभएसम्म बाटो खुलाउन नसकिने डिएसपी सारुले बताउनुभयो ।

त्यस्तै, रुरुक्षेत्र गाउँपालिका–१ साँखरमा सुख्खा पहिरोको कारण खर्ज्याङ–रिडि सडक खण्ड अवरुद्ध छ । अहिले पानी परेको हुँदा सडक खुलाउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।