जनार्जन खत्री
सर्लाही, साउन २३ गते । सर्लाहीको बरहथवामा बिहीबार साँझ स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।विद्यालय समय सकेर विद्यार्थीलाई घर छाड्न धनकौलतर्फ गइरहेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बसबाट खसेर धनकौल गाउँपालिका–३, हरकठवाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेखको मृत्यु भएको हो ।
बिहीबार साँझ बरहथवा नगरपालिका–८, टाँडीमा बसबाट खसेर गम्भीर घाइते भएका बालकलाई यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बालक सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेका थिए । विद्यालय छुट्टी भएपछि घर फर्किदै गर्दा बालकको दुर्घटनामा परेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार मृतक बालकको शव वीरगन्जमै रहेको छ । बस र बस चालक बागमती नगरपालिका–१०, बस्ने २१ वर्षीय राजकुमार यादव प्रहरी नियन्त्रणमै रहेका डिएसपी भट्टराईले बताउनुभयो ।