• २३ साउन २०८२, शुक्रबार

नेपाली रङ्गमञ्चका साधक लम्साल

blog

पुरु लम्साल

नेपाली कला, साहित्य, रङ्गमञ्च र नाट्य क्षेत्रका एक सशक्त हस्ताक्षर हुनुहुन्छ, पुरु लम्साल । नुवाकोटमा जन्मिनुभएका लम्साल साहित्य र नेपाली रङ्गमञ्चमा होमिएको २५ वर्षभन्दा बढी भइसकेको छ । उहाँले लेखन, निर्देशन र अभिनय गरेका नाटक लगभग तीन सयभन्दा बढी भइसके । नेपाली कला, साहित्य र नाटकको विकासमा निरन्तर साधनारत र समर्पित लम्साल हाल नेपाल सरकारको सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुहुन्छ । नेपाली रङ्गमञ्चको सेरोफेरोमा रहेर गोरखापत्रका लागि सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी : 

नाटक चटक्कै छाड्नुभएको हो ? 

–नाटक छोड्नु भनेको मेरा लागि खान छोड्नु जस्तै हो । छोडेको छैन । नाटक लेखिरहेको छु । नाटक छोड्छु भनेर पनि छोड्न सक्दिनँ । मेरो नसा नसामा नाटक बगिरहेको छ । लेखनका हिसाबले यो वर्ष मेरा सात वटा जति फुटकर नाटक प्रकाशित भएका छन् । मञ्चनका हिसाबले पनि केही नाटक लेखन र निर्देशन गरेको छु । पछिल्लो समय चाहिँ लेखेर छोडेका नाटकलाई सङ्गृहीत गर्दै छु । 

कति भयो रङ्गमञ्चमा लाग्नुभएको ?

–नाटक खेल्न र लेख्न सुरुवात गरेको त स्कुलले जीवनदेखि नै हो तर व्यावसायिक हिसाबमा रङ्गमञ्चमै काम गर्न थालेको चाहिँ दुई दशकभन्दा धेरै भयो ।

विश्व बजारमा हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?

–हामीले हाम्रा कुरा लेखेनौँ, मुद्दा लेख्यौँ । विदेशी एजेन्डा लेख्यौँ । प्रायोजित र प्रचारमुखी लेखनले हामीलाई बाहिर ल्याउनुको साटो झन् भित्र अन्धकारमा धकेलिदियो । विदेशीकै कुरा उल्था गरेर वा सो भाव टेकेर हामी विश्व बजारको कल्पना गर्न सक्दैनौँ ।

प्राज्ञ सभा सदस्य बन्नुभएपछि साहित्यिक कार्यक्रम र महोत्सवमा निकै देखिन थाल्नुभएको छ ?

–अहिले धेरै होइन कम देखिन थालेको हुँ । ५० को दशकको अन्त्य र साठीको दशकको सुरुवाती समयमा चाहिँ म धेरै नै साहित्यिक  कार्यक्रम र नाटक महोत्सवमा सहभागिता जनाउने गर्दथेँ । ६० को दशकको अन्तिमदेखि ७० को  दशकको अन्त्य सम्ममा म धेरै अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएँ । त्यो समयको तुलनामा म पछिल्लो समय चाहिँ एकदमै कम साहित्यिक कार्यक्रम, नाटक  तथा चलचित्र महोत्सवमा सहभागी हुने गरेको छु ।

अहिलेसम्म कति वटा नाटक गर्नुभयो ? तपाईंले लेख्नुभएका नाटकको सङ्ख्या कति पुग्यो ?

–धेरै रेडियो नाटक लेखन तथा निर्देशन गरेको छु । सडक नाटक पनि धेरै गरेँ । स्टेजमा पनि नाटक देखाएका छौँ । थिएटरमा पनि थ्रुप्रै नाटक लेखन, निर्देशन र अभिनय गरेको छु । अभिनय, लेखन तथा निर्देशनका हिसाबले हेर्ने हो भने त नाटकको सङ्ख्या झन्डै तीन सय पुग्यो होला । रेडियो नाटकबाहेक नै मैले लगभग सयको हाराहारीमा नाटक लेखेको छु ।