लक्ष्मी चौधरी
जनकपुर, साउन २३ गते । मिथिला क्षेत्रको महत्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । नवविवाहित जोडीले मनाउने मधुश्रावनी पर्व सकिएलगत्तै झुला महोत्सव आरम्भ हुन्छ तर पछिल्लो समय झुलाको रौनक हराउँदै गएको छ ।
विगतमा जनकपुरधामलगायत मिथिला क्षेत्रका विभिन्न मठमन्दिरमा देखिने झुला महोत्सव घटिसकेको छ । अहिले जानकी मन्दिर, राममन्दिर, रत्नसागरमा मात्र झुलाको लोकगीत गुञ्जिने गरेको छ । झुला महोत्सवका अवसरमा बर्खा ऋतुको कजरी, मल्हारगायतका लोकगीत दिनहुँ गुञ्जिने जनकपुरधामका मठमन्दिरमा ती लोकगीतसँगै भक्तजनको घुइँचो र नाचगान गर्ने कलाकारको रौनक पनि घट्दै गएको हो ।
हिन्दु संस्कृति परम्परा जोगाउन यस्ता लोकपर्व, संस्कृति, कला र गीतहरू गुञ्जिन आवश्यक हुन्छ तर अहिले मिथिलामा मनाउने लोकसंस्कृतिको रौनक हराउँदै गएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको भनाइ छ । उहाँका अनुसार झुला महोत्सवका कारण ऋतु वर्णन, बिरहवेदना, राधाकृष्ण लीलाको प्रचुरता रहने कजरीका विषयवस्तु अहिले मिथिलाबाट लोप हुने अवस्थामा छन् । “मिथिलामा मात्र नभएर अयोध्या, वृन्दावन, काशीमा समेत मनाइने झुला पर्वमा पहिला विवाहपञ्चमी जसरी रौनक हुन्थ्यो, डोला निकालिन्थ्यो, डोला हेर्न नेपालका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतका समेत भक्तजन यहाँ आउने गर्थे तर अहिले सीमित मन्दिरमा रौनक देख्न पाइन्छ र भक्तजन पनि सीमित भएका छन्,” उहाँले भन्नुभयो ।
विशेष गरी साउन महिनामा मनाइने झुला पर्वका अवसरमा मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुला जस्ता लोकगीत गाउने र नाच्ने चलन थियो । यी साउन महिनामै गाइने गीत हुन् तर यतिबेला झुला पर्व सीमित मन्दिर र यसमा गाइने लोकगीत पनि सीमित भएका कारण भक्तजनको सङ्ख्या पनि घट्दै गएको छ ।
साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको महोत्सव पूर्णिमासम्म जारी रहने छ । महोत्सवमा भगवान् श्रीराम माता सीतासहितका देवीदेवतालाई कलात्मक झुलामा राखेर १५ दिनसम्म प्रत्येक साँझ रेसमको डोरीले तानेर झुलाइने परम्परा छ । साउन शुक्ल तृतीया तिथिबाट आरम्भ हुने झुलामा विभिन्न देवीदेवतालाई झुलामा झुलाई आस्था र भक्तिभाव प्रकट गर्ने गरिन्छ ।
संस्कृतिविद् परमेश्वर कापडीका अनुसार झुला महोत्सव मिथिलाको लोकजीवन, पद्धति, संस्कार, मन र प्राणसँग जोडिएको एक गहिरो सांस्कृतिक पर्व हो । यो उत्सवमा मिथिलावासीहरू प्रकृतिसँग आत्मीय सम्बन्ध गाँस्दै झुला झुल्दै रमाउने परम्परा रहिआएको छ । “झुला महोत्सव केवल धार्मिक उत्सव मात्र होइन, यो हाम्रो जीवनशैली, प्रकृतिप्रतिको सम्मान र सांस्कृतिक भावनाको अभिव्यक्ति हो,” कापडी भन्नुहुन्छ तर अहिले यो प्राकृतिक रूपमा मनाइने परम्परागत उत्सवलाई आधुनिकताले धमिल्याइरहेको छ भने सजावट, ध्वनि प्रदूषण र औपचारिकताको नाममा परम्पराको मौलिकता हराउँदै गएको उहाँको भनाइ छ ।