गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २३ गते । किराँत समुदायभित्रको कुलुङ जातिको संस्कार संस्कृति ग्रन्थ ‘कुलु रिदुम्’ सार्वजनिक भएको छ । ‘कुलु’ को अर्थ जाति र ‘रिदुम’ को अर्थ संस्कृति हो । प्रेमचन्द्र कुलुङ सम्फोरुले लेख्नुभएको पुस्तकमा कुलुङ जातिमा जन्मदेखि मृत्युसम्म गरिने संस्कार पूजा र संस्कृतिको कुरालाई प्रस्तुत गरिएको छ । सो पुस्तक नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घले प्रकाशन गरेको हो ।
नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ बाला क्षेत्रमा कुलुङ पुर्खाको अध्ययन गरी सो पुस्तक लेखिएको जानकारी दिनुभयो । उहाँले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट स्वीकृति प्राप्त गरिसकेपछि पुस्तक प्रकाशित गरएिको बताउनुभयो । “हाम्रो कुलुङको सबै लेखाजोखा राख्ने सोलुखुम्बुको महाकुलुङमा हो,” कुलुङले भन्नुभयो ।
सात वर्ष लगाएर प्रकाशित गरिएको पुस्तक तयार पार्न नन्दकिशोर कुलुङ, जनकराम कुलुङ, हेमराज कुलुङलगायत १२ जना संस्कृतिविद्को सहयोग लिएको अध्यक्ष कुलुङले बताउनुभयो । सो पुस्तकमा पुरानो दस्ताबेज, सांस्कृतिक घर, धामीझाँक्रीले तान्त्रिक विधिबाट गरिने उपचार, रोगव्याधि निको पार्ने विधि, जन्म, मृत्यु, कुलपूजा, भूमिपूजा, प्रकृतिपूजा आदि पक्षलाई समावेश गरिएको छ ।
७७७ पानाको पुस्तकमा एक दर्जनभन्दा बढी चित्रका साथै सन्दर्भ सूची समावेश गरिएको छ । सोलुखुम्बुका महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले समुदायले संरक्षण गरिरहेको सो जातिलाई राष्ट्रले पनि संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राज्यले संरक्षण गरेन भने हाम्रो जाति पनि लोप हुने अवस्थामा पुग्ने छ । यो जाति हाल पूर्वी नेपालको सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, झापा, इलामलगायतका १४ जिल्लामा बसोबास गर्छन् ।”