• २३ साउन २०८२, शुक्रबार

साउनमै पाक्यो धान

blog

धान भित्र्याउँदै कृषक डम्बरदेवी बुढा । तस्बिर : एकेन्द्र महता

साँफेबगर समाचारदाता

अछाम, साउन २३ गते । आकासे पानीको भरमा रोपाइँ हुने केही ठाउँमा भने धान रोप्न अझै बाँकी रहँदा अछामको साँफेबगरका एक किसानको खेतमा साउनमै धान पाकेको छ । साँफेबगरस्थित बुढीगङ्गा नदी किनारमा साउनमै बर्खे धान पाकेको हो । वैशाख अन्तिम सातामा रोपिएको धान साउन मध्यतिरै पाकेको छ । 

ढिलो वर्षा हुँदा कतिपय किसानले भने बिउ जोगाउन नसकेर धान रोप्ने खेतमा गहत, मास जस्ता गेडागुडी छरेका छन् । चाँडै धान पाकेको खेतमा पुनः धान रोप्ने सोच बनाएको कृषक डम्बरदेवी बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मैले वैशाख अन्तिम साता चार रोपनीमा धान रोपेको हुँ, यति चाँडै पाक्दा खुसी लागेको छ । धान पाक्ने समयभन्दा अगावै धान कटाइ र चुटाइ गरिरहेकी छु ।”

सिँचाइको सुविधा भएका ठाउँमा समयमै रोपाइँ भए पनि केही ठाउँमा भने अझै रोपाइँ हुन बाँकी रहेको छ । अछाममा रोपाइँ हुने जग्गा १५ हजार ७६१ हेक्टर क्षेत्रफल रहेको कृषि ज्ञान केन्द्र अछामका सूचना अधिकरी भूमिराज उपाध्यायले बताउनुभयो । 

उहाँका अनुसार रोपाइँ हुने करिब दुई प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी छ ।

धान रोपाइँ हुने कुल क्षेत्रफलको करिब ३० प्रतिशत मात्रै वर्षभरि सिञ्चित हुन्छ भने बाँकी ७० प्रतिशत आकासे पानीको भरमा सिँचाइ हुने गरेको छ ।

उपाध्यायले भन्नुभयो, “उन्नत जातको धान भएका कारण छिटो पाकेको हो, पछिल्लो समय किसानको आकर्षण उन्नत जातका बिउमा बढेको छ ।”