गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २३ गते । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपियाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपियाँ र र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपियाँ बराबरको विद्युत् बिक्री गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
गत वर्ष भारतबाट १२ अर्ब ९२ करोड रुपियाँ बराबरको विद्युत् आयात गरिएको छ । यस अनुसार नेपालले विद्युत् व्यापारमा खुद निर्यातक बन्न सकेको छ । विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताउनुभयो । यो आर्थिक प्रगति निर्यातको परिमाणले मात्र नभई व्यापार सन्तुलनका हिसाबले पनि महत्वपूर्ण छ । यसले नेपाललाई ‘खुद आयातकर्ताबाट ‘खुद निर्यातकर्ता’ बन्ने यात्रामा थप मद्दत पुगेको मन्त्री खड्काले बताउनुभयो । बङ्गलादेशसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ ।
वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) मा निर्यात गर्ने गरिएको छ । साथसाथै भारतमा एनभिभिएनमार्फत मध्यकालीन सम्झौताका आधारमा पनि विद्युत् व्यापार हुने गरेको छ । नेपालले अहिले भारतको विभिन्न राज्यमा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको जनाइएको छ ।