काठमाडौँ, साउन २२ गते । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फ्राइन्चाइज टोली मधेश युनाइटेडले आफ्नो लोगो सार्वजनिक गरेको छ ।
लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ। खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ ।
यसको चारैतिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ। लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।
मधेश युनाइटेडको लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ । जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकैसाथ प्रस्तुत गरेको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा भदौ २० देखि २८ गतेसम्म हुन लागेको लिगका लागि मधेश टोलीका खेलाडीहरुमा निरुता ठगुन्ना (मार्की), आरती सुवेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, वसन्ती साउद र स्नेहा ठगुन्ना हुनुहुन्छ । यस्तै टोलीको प्रशिक्षकमा पूर्व कप्तान कोपिला उप्रेती रहनुभएको छ ।