नारद कोहार
तौलिहवा(कपिलबस्तु), साउन २२ गते । कुनै समय गाउँ–बस्ती डुल्दै सर्प देखाएर, महकाढेर वा भिक्षा माग्दै जीविका चलाउन बाध्य नटुवा समुदाय अहिले आत्मनिर्भर भविष्यको सपना देख्दैछन् । उनीहरूका हातमा अब बाजा छन्, साँगितिक तालसँगै जीवन बदल्ने सिप ।
जिल्लाको मायादेवी गाउँपालिकाको पकडीमा सञ्चालन भएको “सुधारिएको खाद्य प्रणाली परियोजना” अन्तर्गत लोकल ब्यान्ड बाजा बजाउने सीप विकास तालिम यही परिवर्तनको एक जीवन्त उदाहरण बनेको छ । तालिम विशेष रूपमा भूमिहीन नटुवा समुदायलाई लक्षित गर्दै आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले सिकेको सिपलाई व्यवसायिक बनाउन जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नटुवा समुदायले लामो समयसम्म राज्यको सेवाबाट विमुख भएर जीवन जिउनुपर्याे । अब यस्ता परियोजनाले उनीहरूलाई समाजसँग समाहित हुन र आत्मसम्मान साथ बाँच्न मद्दत पुर्याउँछ । आउने दिनमा पनि यस्ता सहयोग निरन्तर गरिनेछ ।”
कार्यक्रममा मायादेवी गाँउपालिका ४ का वडाध्यक्ष असफाक अहमद खाँले “पहिला सर्प देखाएर वा महकाढेर माग्न बाध्य समुदायलाई आज सिपमार्फत सम्मानित जीवन जिउन प्रेरणा दिनु ठूलो उपलब्धि हो ।”
त्यस्तै नेटुवा विकास समितिका अध्यक्ष एवं तालिम प्रशिक्षक नेतराम नेटुवाले पहिलोपटक कुनै परियोजनाले समुदायमै आएर तालिम सञ्चालन गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्दै उहाँले समुदायका लागि यो सिप भविष्य निर्माणको महत्वपूर्ण माध्यम बन्न सक्ने बताउनुभयो ।
कार्यक्रम अधिकृत सुमन न्यौपानेले तालिम रोजगारमुखी मात्रै होइन, सामाजिक रूपान्तरणको माध्यम पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो “भूमिहीन, सीपविहीन समुदायले अब आत्मनिर्भर बन्न सक्ने बाटो पाएका छन् ।”
वि.एम.जेड र डब्लु.एच.एच.को आर्थिक तथा प्राविधिक सहयोगमा, फरवार्ड नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित ‘सुधारिएको खाद्य प्रणाली परियोजना’ अन्तर्गत प्रदान गरिएको तालिममा १४ जना नेटुवा समुदायको व्यक्तिहरुको सहभागिता रहेको थियो ।