• २२ साउन २०८२, बिहिबार

वर्षमा छुट्टिए तीन सय दस जोडी

blog

नवीनराज कुइँकेल

लमजुङ, साउन २२ गते । लमजुङमा पछिल्लो वर्षहरूमा सम्बन्ध विच्छेदका मुद्दा गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत लमजुङमा गत आर्थिक वर्ष २०८१–८२ मा तीन सय दस जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।

गत वर्ष अदालतमा सम्बन्ध विच्छेद्का तीन सय ८४ मुद्दा रहेकोमा ३१० जोडीको मुद्दा फैसला भई सम्बन्ध विच्छेद भएको जिल्ला अदालत लमजुङका श्रेस्तेदार भेषराज पौडेलले बताउनुभयो । 

जिल्ला अदालतमा अन्य मुद्दाभन्दा बढी सम्बन्ध विच्छेदका आउने गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा तीन सय ८६ जोडीले बढी सम्बन्ध विच्छेद् गरेका थिए । गत अघिल्लो भन्दा गत आवमा ७६ जनाले कमि भए पनि जिल्ला अदालतमा अरू मुद्दाभन्दा सम्बन्ध विच्छेदका मुद्दा प्रत्येक वर्ष बढी आउने गरेको छ ।       

आर्थिक वर्ष २०७९–८० मा चार सय एक सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा तीन सय २६ जोडीको सम्बन्ध विच्छेद भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८–७९ मा सम्बन्ध विच्छेद गर्ने जोडीको सङ्ख्या तीन सय ३२ रहेको थियो । हरेक वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढ्दो छ । 

सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको नेपाल बार एकाइ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । पारिवारिक समस्या भएका कतिपय दम्पतिहरू अदालतमा गएर सम्बन्ध विच्छेद गर्नुभन्दा पहिले प्रहरीकहाँ पनि पुग्ने गरेका छन् । 

सामान्य समस्यालाई मेलमिलाप गराएर फर्काउने गरेको र सम्बन्ध छुट्नै चाहनेलाई मात्र अदालत पठाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।

पारिवारिक कारण, वैदेशिक रोजगार, विदेशीको नक्कल, बालविवाह, बहुविवाह, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीपनाजस्ता कारणले सम्बन्ध विच्छेदका घटनाहरू बढ्दैगएको जिल्ला अदालतले जनाएको छ । बालविवाह, इच्छाविपरित विवाह, वैदेशिक रोजगारलाई कम गर्न सकिएमा सम्बन्ध विच्छेदका घटनामा कमी आउने बार लमजुङका अध्यक्ष अधिकारीले बताउनुभयो ।