सिराज खान
नेपालगन्ज, साउन २२ गते । बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन महिनामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको र ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका अस्पतालहरुमा डेंगु तथा स्क्रबटाइफसका बिरामीहरु आउनेक्रम बढेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँके, बर्दिया, दाङ, कैलाली लगायतका जिल्लाहरुबाट डेंगु र स्क्रबटाइफसका बिरामीहरु अस्पतालमा आइरहेको बताउनुभयो ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार डेंगु भएमा अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्नेलगायतका मुख्य लक्षणहरू देखिने बताउनुभयो ।
उहाँका अनुसार डेंगु सङ्क्रमण भएका धेरै बालबालिका दैनिक अस्पतालमा आइरहेका छन् । डेंगु मात्र नभएर स्क्रबटाइफसको सङ्क्रमण भएका बालबालिका पनि अस्पतालमा आइरहेको उहाँले बताउनुभयो ।
पछिल्लो तीन महिनामा बाँकेमा २९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । ५२८ नमुना परीक्षण गरिएकोमा २९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका १८ जना र कोहलपुर नगरपालिकाका ११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
तीमध्ये भेरी अस्पतालमा १९ जनाको उपचार गरिएको छ भने मेडिकल कलेज कोहलपुरमा तीन जनाको उपचार गरिएको छ । यसैगरी, ७२९ जनाको स्क्रबटाइफसको नमुना परीक्षण गरिएकोमा ८९ जनाको शङ्कास्पद लक्षण चिन्ह देखिएको फोकलपर्सन गौतमले बताउनुभयो ।
नेपालगन्ज र कोहलपुरका ठुला अस्पतालहरुमा अन्य जिल्लाबाट बिरामीहरु आउने भएकाले अस्पतालका बेडहरुमा डेंगु र स्क्रबटाइफसका बिरामीहरु धेरै छन् ।
डेंगुबाट जोगिन शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्ने, सुतेको समयमा झुल प्रयोग गर्नुपर्ने र घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।