• २२ साउन २०८२, बिहिबार

नेपालगन्ज–दिल्ली उडानका लागि ध्यानाकर्षण

blog

नेपालगन्ज–दिल्ली उडानका लागि पहल र सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, साउन २२ गते ।
नेपालगन्ज–दिल्ली हवाई उडानका लागि पहल र सहयोग गर्न अनुरोध गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको ध्यानाकर्षण गराइएको छ ।

नेपालगन्ज–दिल्ली उडान दबाब समूहको एक टोलीले बुधबार प्रदेश राजधानी भालुवाङ पुगेर मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउँदै उडान सुरु गराउन पहल र सहयोग गरिदिन आग्रह गरेको हो ।

नेपालगन्ज–दिल्ली उडान दबाब समूहका सदस्य सचिव भीमबहादुर रानाभाटको नेतृत्वमा प्रदेश राजधानी पुगेको एक टोलीले मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर ध्यानाकर्षण पत्र बझाउँदै पहल र सहयोगको माग गरेको दबाब समूहका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले बाँकेको निजि क्षेत्रको अगुवाइमा लामो समयदेखि नेपालगन्ज–दिल्ली उडानको माग गर्दै आएको र अहिले नेपालगन्ज विमानस्थललाई समेत अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलका रुपमा स्तरोन्नति गरिएकाले उडान सरु गर्ने बेला आएको हुँदा सो का लागि दबाब तीव्र पारिएको बताउनुभयो ।

नेपालगन्ज–दिल्ली उडान दबाब समूहका सदस्य सचिव रानाभाटका अनुसार मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण पत्र बुझ्दै नेपालगन्ज–दिल्ली उडानका लागि पहल गर्ने तथा हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

‘‘मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट उडानका लागि सहयोग र समर्थन  गर्ने लिखित प्रतिबद्धता समेत एक दुई दिनमा पठाउने जनाउनुभएको छ । सो बारेमा सङ्घीय सरकारसँग छलफल गर्ने पनि उहाँले भेटमा आश्वासन दिनुभएको छ ।’’, दबाब समूहका सदस्य सचिव रानाभाटले भन्नुभयो ।

मुख्यमन्त्री तथा पूर्व मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन प्रदेश राजधानी पुगेको टोलीमा नेपालगन्ज–दिल्ली उडान दबाब समूहका सदस्य सचिव रानाभाट, सदस्यहरु कृष्णप्रसाद श्रेष्ठ, करिश्मा योगी र सल्लाहकार वीरबहादुर ओली रहनुभएको थियो ।

यसअघि केही दिन अघिमात्रै नेपालगन्जमा भएको एक बृहत् छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडानको विषयलाई पनि एजेण्डा बनाउन अनुरोध गर्ने निर्णय गरिएको थियो ।

सो निर्णय बमोजिम प्रधानमन्त्रीलाई गरिने आग्रहको मस्यौदा तयार भइरहेको र प्रधानमन्त्री विदेशबाट फर्केपछि सो बुझाउन जाने नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक टंक धामीले बताउनुभयो ।

नेपालगन्ज–दिल्ली उडान सुरु गर्न सकिए भारतका धार्मिक र अनय पर्यटकलाई ठुलो संख्यामा यस क्षेत्रमा ल्याउन सकिने, कैलाश मानसरोवर जान भारतीय पर्यटक यहाँ ल्याउने र यस क्षेत्रबाट औषधी उपचारलगायत अन्य काम विशेषले दिल्ली जानेहरुलाई सहज हुने जनाइएको  छ ।