• २२ साउन २०८२, बिहिबार

सुन्तलाका दाना झर्न थाले

blog

वालिङ समाचारदाता

वालिङ (स्याङ्जा), साउन २२ गते । सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका कृषक चिन्तित भएका छन् । पुस्टिएका र राम्रा दाना एकाएक झर्न थालेपछि यहाँका सुन्तला कृषक चिन्तामा परेका हुन् । पतेराको आक्रमणसँगै गर्मी र वर्षाका कारण सुन्तलाको दाना झर्न थालेका छन् । सुन्तलाका दाना मौसम र पतेरालगायतका कारणले झर्ने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम स्याङ्जाका सुन्तला प्राविधिक प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । दाना झर्न नदिन पतेरा नियन्त्रण र विषादीको सही उपयोगमा ध्यान दिन कृषकलाई उहाँको सुझाव छ ।

यस पटक सुन्तलाका दाना धेरै झरेको वालिङ नगरपालिका–१२ का कृषक सीता थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनहुँ जसो सुन्तलाका दाना झरिरहेका छन्, हामीलाई निकै चिन्ता थपेको छ ।” सुन्तलाका बोटलाई गोडमेल, स्याहार र सरसफाइमा ध्यान दिनुपर्ने प्राविधिक सुवेदीको भनाइ छ । आवश्यकताबमोजिम खाद्यान्न, मलजल चाहिने जानकारी गराउँदै उहाँले पौष्टिक तत्व र भिटामिन नपुग्दा दाना झर्ने गरेको हुन सक्ने पनि बताउनुभयो । 

सुन्तलाका लागि उपयुक्त हावापानी भएका कारण स्याङ्जा सुन्तलाका लागि प्रसिद्ध छ । नगदेबालीका रूपमा जिल्लाका कृषकले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । जिल्लामा सञ्चालनमा रहेको सुन्तला सुपर जोन परियोजना सुन्तला उत्पादन र बजारीकरणमा सहयोग पु¥याउँदै आएको परियोजनाका अध्यक्ष बोधराज अर्यालले जानकारी दिनुभयो । जिल्लाका ११ पालिका र ९७ वडामध्ये पाँच/छ वटा वडाबाहेक सबै वडामा सुन्तला खेती गरिएको छ । झन्डै दुई हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गत वर्ष २० हजार मेट्रिक टन सुन्तला उत्पादन गरेका जिल्लाका कृषकले सुन्तला बिक्रीबाट एक अर्ब १२ करोड नगद हात पारेका थिए ।

जिल्लामा स्थानीयदेखि जापानी, उन्सु, खोकुलगायतका मौसमी तथा बेमौसमी सुन्तला खेती पनि गरिन्छ । स्याङ्जामा २४ सहकारी, ८७ कृषक समूह र २५१ निजी फार्ममा सुन्तला उत्पादन हुने गरेको छ ।