• २३ साउन २०८२, शुक्रबार

बच्चामै बढ्दै आत्महत्या, बालिका झन् बढी जोखिममा

blog

धुर्कोट गाउँपालिका–४, जैसीथोकका मृतक अनमोल विकको शोकाकुल परिवार । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), साउन २२ गते । गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोकका रामु विकको परिवारमा कसैका आँखाका आँसु ओभाएका छैनन् । गत साउन १३ गते कक्षा ५ मा पढ्दै गरेका १० वर्षीय छोरा अनमोल विक गोठमा मृत भेटिए । परिवारले खोज्दै जाँदा अनमोलले प्लास्टिकको पासोमा जीवन गुमाएका थिए । ७९ वर्षीय हजुरआमा हरिकला विकले कल्पनाभन्दा बाहिरको विषय भएकाले गोठतिर कसैको ध्यान नपुगेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “दैव पनि कति निष्ठुरी पहिले दुई नाति र बुहारी मरे । अहिले त्यति सानो बच्चाको गलामा पासो देख्दा मूच्र्छा परेँ ।” उहाँले बिहानभर गोठ र आमासँग खेलेको छोरा आधा घण्टामा मृत भेटिएको बताउनुभयो । हरिकलाका अनुसार माइलो नाति भारतमा र जेठो नातिको निस्तीखोलामा डुबेर ज्यान गयो । 

माइलो छोराको पीडामाथि जेठो छोरा खोलामा डुबेको घटना आमा कमला विकले सहन सक्नुभएन । जसको कारण १३ दिनकै दिन हृदयाघातका कारण बुहारीको पनि मृत्यु भयो । छोरा रामुले गीता विकलाई दोस्रो विवाह गरेर ल्याउनुभयो । गीताको पनि छोरा अनमोलको मृत्यु भयो । अहिले घरमा जेठीपट्टिका बिरामी सुरज विक र कान्छीतिरकी छ वर्षीय छोरी रहेकी छन् ।

रेसुङ्गा नगरपालिका–३, भाडगाउँका केशव कुँवरको परिवार पनि अझै शोकमा डुबेको छ । साउन ६ गते बिहान गते छोरा ११ वर्षीय मधुसूदन कुँवर विद्यालय हिँड्ने तयारीमा थिए । उनी बाहिर साइकल खेल्दै थिए । कपाल फालिरहेका बुवा केशव कुँवर बाथरुम नुहाउन गएर बाहिर आउँदा छोरा रहेनन् । बुवाले भन्नुभयो, “आँखाबाट छुटेको पाँच मिनेटमा घटना भयो । कहिल्यै झगडा, बार्गेनिङ वा अस्वाभाविक गतिविधि गर्ने थिएन ।” कोठामा पासो लगाएको अवस्थामा मृत फेला परेका मधुसूदनको मृत्युको कारण परिवार कसैलाई पत्तो नै भएन । 

गुल्मीदरबार गाउँपालिका–५ का नेत्र र सावित्रा मिदुनका १७ वर्षीय छोरा इन्द्र मिदुनले साउन ७ गते घरकै कोठामा आत्महत्या गरे । कम बोल्ने र घरबाहिर कम निस्कने स्वभाव थियो । एक्कासि घरमै झुन्डिएको अवस्थामा फेला परेपछि आमा सावित्रा मूच्र्छित हुनुभयो । बुवाको निधन भइसकेकाले दुई छोराको मुख हेरेर बसेकी सावित्राका जेठा छोरा इन्द्रले आत्महत्या गरेपछि परिवारमा पीडा भएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बच्चाहरूले आत्महत्या गर्ने क्रम बाक्लो छ । बालबालिकामध्ये पनि बालिकाको सङ्ख्या धेरै छ । आर्थिक वर्ष २०८०/८१ मा आठ बालिका र तीन बालकले आत्महत्या गरेका छन् । आव २०८१/८२ मा नौ बालिका र दुई बालक गरेर ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

अहिले साउन महिनाको २० दिनमा १० जनाले आत्महत्या गरेका छन् । साउन पहिलो साता ३, ४, ६, ७ र ८ गते लगातार आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूले दिनमा तीन वटासम्म आत्महत्याका घटना हुने जानकारी दिनुभयो । सारूका अनुसार जिज्ञासा, देखासिकी, पारिवारिक बेमेल, कम उमेरको मायाप्रेम, जिद्दी, बार्गेनिङ गर्ने र कडा रोग नै आत्महत्याका कारक देखिएका छन् । उहाँका अनुसार आव २०८०/८१ मा ८६ जना र आव २०८१/८२ मा ७० जनाले आत्महत्या गरेका छन् ।