विनय कर्ण
कल्याणपुर (सप्तरी) साउन २२ गते । प्रहरीको गोली लागेर राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरका ३६ वर्षीय लालु प्रसाद यादवको प्रहरीको गोलीबाट मृत्यु भएपछि त्यसको विरोधमा उत्रेका स्थानीय राजनीतिकदलहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
यादवको मृत्युपछि दिपेन्द्र यादवको संयोजकत्वमा गठन भएको संघर्ष समितिले बुधबार साँझ प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई चारबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमार्फत संघर्ष समितिले गोली प्रहार गर्ने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई तत्काल निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न साथै जिल्ला प्रहरी प्रमुखविरुद्ध विभागीय कारबाही थाल्न माग गरेको छ ।
त्यस्तै, मृतक लालु यादवको हत्याको गम्भीर र निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन, उनलाई शहीद घोषणा गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा सीमा क्षेत्रमा भएको प्रहरीको ‘आतङ्क’ अन्त्य गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नियमित निगरानी गर्न माग ज्ञापनपत्रमा गरिएको छ ।
२४ घण्टाभित्र माग पूरा नभए थप आन्दोलनको घोषणा गरिने चेतावनी पनि संघर्ष समितिले दिएको छ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने संघर्ष समिति संयोजक यादवले बताउनुभयो ।
भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठुलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबिच मङ्गलबार राति झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको र सोही क्रममा तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममामृत्यु भएको प्रहरीलेको भनाइ छ । यता मृतक यादवलाई प्रहरीले बोलाएर नियन्त्रणमा लिई गोली हानेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।