भरतपुर समाचारदाता
चितवन, साउन २२ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रेल विभागबाट प्रस्तावित रेलमार्गको वैकल्पिक रेखाङ्कन र सम्भावना अध्ययन गराई राय पेस गर्न निर्देशन भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
प्रस्तावित रेलमार्गपीडित सङ्घर्ष समितिले बुधबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महानगर प्रमुख दाहालले त्यस्तो बताउनुभएको हो ।
उहाँले रेलमार्ग बन्नुपर्ने तर थोरैभन्दा थोरै व्यक्तिगत सम्पत्तिको क्षतिमा बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले यो समस्या समाधानका लागि हामीले वैकल्पिक रेलमार्गको सम्भावनासहितको पत्र पठाएका थियौँ ।”
प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–हेटौँडा–भरतपुर खण्डको भरतपुर महानगरपालिकाको मुख्य बसोबासी क्षेत्र वडा नम्बर ८, ७, ५, ४ र १६ हुँदै नवलपुरतर्फ सर्भे गरिएको थियो । प्रस्तावित रेलमार्गको स्थानीय बासिन्दाले विरोध गरेका थिए । रेलमार्ग सर्भेका लागि आएको टोलीले प्रयोग गरेको गाडीसमेत अज्ञात व्यक्तिले तोडफोड र आगजनी गरेका थिए ।
पीडितले प्रस्तावित रेलमार्गपीडित सङ्घर्ष समिति नै निर्माण गरी आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । उनीहरूले पटक पटक प्रधानमन्त्रीलाई भेट गर्ने, राजनीतिक नेतृत्वलाई ज्ञापनपत्र बुझाउनेलगायतका काम गर्दै आएका थिए । भरतपुर महानगरपालिकाले पनि उक्त बसोबासी क्षेत्रको बदलामा अन्य विकल्पसमेत दिएर रेलमार्ग निर्माण गर्न सुझावसहितको निवेदन रेल विभागमा पठाएको थियो ।
रेल विभागबाट उक्त सङ्घर्ष समितिलाई बोधार्थसहित साउन ११ गतेको मितिमा भरतपुर महानगरपालिकाको नाममा पठाएको चलानी नम्बर ११ को पत्रले पुरानो विस्तृत आयोजना प्रतिवेदन खारेज गरी पूर्वपश्चिम राजमार्गलाई आधार मानेर पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार गरिने जानकारी दिएको छ । उक्त पत्रलाई आधार मानेर सङ्घर्ष समितिले नेपाल सरकार, भरतपुर महानगर प्रमुखलगायत जनप्रतिनिधि र राजनीतिक दल नेतृत्वको सम्मानमा उक्त बृहत् धन्यवाद कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा पछिल्लो निर्णय गर्ने नेपाल सरकार, सङ्घर्ष समितिलाई साथ र सहयोग दिई वैकल्पिक सम्भावनाको खाका बनाइदिने भरतपुर महानगरपालिका, महानगरप्रमुख रेनु दाहाल, स्थानीय वडाध्यक्ष र पीडितलाई साथ र सहयोग गर्ने सबैका लागि भनेर बृहत् धन्यवाद कार्यक्रम राखेको जनाएको थियो । आव २०८२/८३ को बजेट वक्तव्यमै पूर्वपश्चिम राजमार्गलाई आधार मानी स्टान्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिने भन्ने उल्लेख छ ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहाल, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय जनमोर्चालगायत राजनीतिक दलका जिल्लास्तरीय नेता, महानगर उपप्रमुख चित्रसेन अधिकारी, प्रभावित क्षेत्रका वडाध्यक्षलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।