बाबुराम शर्मा
दोलखा, साउन २२ गते । दोलखाको मेलुङ गाउँपालिका–२ की सम्झना खडका बुढाथोकीले व्यवसायिक रुपमा गरेको अकबरे खुर्सानी खेतीबाट लाखौँ रुपियाँ आम्दानी गर्नुभएको छ । १८ महिने कृषि जेटीए अध्ययन गरेर बुढाथोकीले व्यवसायिक कृषि कर्ममा अकबरे खुर्सानी खेती सुरु गर्नुभएको हो ।
खुर्सानी खेती सुरु गरेको चार महिनामै उत्पादित ढिँडी र नर्सरीबाट तीन लाख ८० हजार रुपियाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार फागुन महिनामा लगाएको अकबरेले जेठ महिनामै सात सय किलो उत्पादन भई स्थानीय बजार र काठमाडौँमा बिक्री भएको छ । प्रतिकिलो चार सयसम्ममा बिक्रील भएको उनको भनाइ छ । ढिँडीबाट दुई लाख ८० हजार र नर्सरीबाट एक लाख रुपियाँ आम्दानी भएको हो । अर्को लटको पनि उत्पादन भइसकेको छ । यसबाट पनि यत्तिकै आम्दानी हुने देखिएको छ । माग पनि बढिरहेको छ ।
अध्ययनपछि के गर्ने भनिरहेकै बेला गैरसरकारी संस्था हेफर नेपालको सुझाव र आर्थिक सहयोगबाट यो खेती सुरु गरिएको उहाँको भनाइ छ । तीन रोपनीमा २६ सय बोट इलामे अकबरे खुर्सानी रोपिएको छ । करिब एक रोपनीमा नर्सरी रहेको छ । थप सहयोग पाएमा अरु विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय कृषकलाई व्यवसायिक उत्पादनसँग जोडेर उद्यमी बनाउन थालेको छ । यहाँका कृषकहरुले आलु किवी खुर्सानीलगायतका कृषि उपजहरुको व्यवसायिक खेती थालेका छुन् ।
गाउँपालिकाले दुई वटा गैरसरकारी संस्था हेफर र सामुदायिक विकास मञ्च नेपालसँगको साझेदारीमा पालिकाभित्रका करिब तीन हजार पाँच सय कृषकलाई कृषि व्यवसायमा जोडेको छ । पालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्रका ११९ वटा समूहमा एक करोड पाँच लाख रुपियाँ बराबरको कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
गाउँपालिकामा सञ्चालन भएका कार्यक्रमहरुमा पशुपालन तथा दुग्ध उत्पादन कार्यक्रम, तरकारी खेती कार्यक्रम र बाख्रापालनलगायतका कार्यक्रम रहेका थिए । तरकारी खेतीअन्तर्गत छ वटा कृषि समूहलाई खोर्सानी खेतीमा प्रोत्साहन गरिएको थियो । वडा नम्बर–२, ३, ४ र ५ का विभिन्न कृषि समूहले अहिले व्यवसायिक खुर्सानी तथा तरकारी खेती गरिरहेका छन् । गाउँपालिकासँगको समन्वयमा कृषकलाई २८ हजार ४५४ वटा अकबरे खुर्सानीको बिरुवा वितरण गरिएको छ । हेफर तथा सामुदायिक विकास मञ्च नेपालका कार्यक्रम संयोजक फरेन्द्र चौलागाईंका अनुसार समूहभित्रकै कृषक सम्झना खड्काको नर्सरीबाट बिरुवा खरिद गरेर तीन सयभन्दा बढी स्थानीयलाई स्थानीय गाईखुरा महिला उद्यमी कृषि सहकारीमार्फत अकबरे खुर्सानीको बिरुवा वितरण गरिएको थियो । यहाँका दर्जनौँ किसानले गत वैशाख–जेठमा रोपिएको खुर्सानीबाट अहिले धमाधम आम्दानी लिन थालेका छन् ।
वडा नम्बर–२ बाँसबोटेका स्थानीयले असार–साउनको पहिलो सिजनमै पाँच÷सात सय केजी खुर्सानी बिक्री गरेर राम्रो आम्दानी लिइसकेका छन् । कृषकले उत्पादन गरेको हरियो, पाकेको अकबरे खुर्सानी, निउरो, काक्रोलगायतका कृषि उपजहरु काठमाडौँका जिरी लेकाली हाटघरलगायतका थोक तथा खुद्रा पसलबाट कोसेलीको रूपमा बिक्री हुन थालेको छ । मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पनि यो कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको पालिका अध्यक्ष हीराकुमार थोकरले जानकारी दिनुभयो ।