स्याङ्जा समाचारदाता
स्याङ्जा, साउन २२ गते । स्याङ्जामा एकै आर्थिक वर्षमा तीन लाख छ हजार ४५० केजी मकै बिउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा तथा कृषि स्रोत केन्द्रको सहायतामा प्रदेशमै पहिलो मकैको बिउ उत्पादन गर्ने जिल्ला स्याङ्जा बन्न सफल भएको हो ।
यहाँका १५ वटा फार्म/कृषक समूह/सहकारीमार्फत दुई हजार २५ रोपनीमा उन्नत र १८ रोपनीमा मूल बिउ उत्पादन गरिएको हो । यहाँ मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको बिउ उत्पादन गरिएको छ ।
कालीगण्डकी, फेदीखोला, पुतलीबजार, अर्जुनचौपारी, वालिङ, आँधीखोला, कृषि विकास स्रोत केन्द्र र बिरुवामा गरेर एक लाख ६३ हजार दुई सय केजी मनकामना–३ बिउ उत्पादन गरिएको हो । यस्तै एक लाख ३५ हजार ७५० केजी अरुण–२ गल्याङ, चापाकोट र बिरुवा र र गल्याङमन सात हजार पाँच सय केजी रामपुर कम्पोजिट बिउ उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो ।
फेदीखोला गाउँपालिका मात्रै ९७ हजार पाँच सय केजी, मनकामना–३ उत्पादन भएको हो भने अरुण–२ गल्याङको जिमुवामै ९३ हजार ७५० केजी बिउ उत्पादन भएको छ । उत्पादित बिउमा दुई हजार सात सय केजी मूल र अरू सबै उन्नत बिउ भएको हमालको भनाइ छ ।
जिल्लामै सबैभन्दा धेरै गल्याङ नगरपालिका–११ का रुमलाल कँडेलले १५ रोपनी आफ्नै र १५ रोपनी भाडामा लिएर चार टन बिउ उत्पादन गर्नुभएको छ भन जिमुवाकै चन्द्रकान्त डुम्रेले एक टन मकैको बिउ उत्पादन गर्नुभएको हो । गत वर्षकै दर बिउको मूल्य परेमा आफ्नो गाउँमा मात्रै एक करोडको उत्पादन भएको चन्द्रकान्तको भनाइ छ ।
कृषकले उत्पादन गरेको बिउ गत वर्ष प्रतिकेजी १२० रुपियाँका दरले बेच्दा तीन करोड ६७ लाख ७४ हजार रुपियाँ पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रले बिउ उत्पादन गर्ने कृषकलाई ५० प्रतिशत छुटमा प्रजनन, मूल बिउ र आवश्यक औजार उपलब्ध गराएको थियो ।
यहाँ उत्पादन भएको बिउ जिल्लामा पुगेर छिमेकी जिल्लामा समेत ४० प्रतिशत बेच्न सकिने केन्द्रका सूचना अधिकारी विकास विकले बताउनुभयो । उहाँले कृषकले उत्पादन गरेको बिउलाई प्रदेश बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र पोखराले अन्तिम निरीक्षण गरेसँगै बिक्रीवितरण गरिने बताउनुभयो ।