• २२ साउन २०८२, बिहिबार

सरकारको विशेष ध्यान सडक पूर्वाधार विकासमा

blog

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ उद्घाटन गर्नु हुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ।तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २२ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक पूर्वाधारको बृहत् सुधारमार्फत अर्थतन्त्रको विस्तार गर्ने गरी सरकारले सडक पूर्वाधार विकासमा विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । 

नेपाल अटोमोबाइल इम्पोर्टर एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको मोबिलिटी एक्सपोको उद्घाटनका क्रममा उहाँले पूर्वपश्चिम तथा उत्तरदक्षिणका विभिन्न सडक सञ्जाल विस्तारमा सरकारको विशेष महत्व रहेको बताउनुभयो ।

उहाँले पूर्वपश्चिम राजमार्गलाई अन्तर्राष्ट्रियस्तरको एक्सप्रेस हाइवेका रूपमा स्तरोन्नति गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले मध्यपहाडी, मदन भण्डारी र हुलाकी राजमार्गलाई पनि स्तरीय मार्ग बनाउन निर्माण जारी रहेको बताउनुभयो ।  

उत्तरदक्षिणका विभिन्न मार्गलाई पनि मापदण्ड अनुरूप स्तरीय बनाउने बताउँदै उहाँले भन्नुभयो, “यातायात पूर्वाधार समयमै बनोस् र बजेट अभाव नहोस् भन्ने विषयमा सचेत भएर चालु आर्थिक वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन गरिएको छ ।” उहाँले अब सबै सडक हिलो र धुलोरहित हुने दाबी पनि गर्नुभयो ।

अर्थमन्त्री पौडेलले यातायात क्षेत्रको विकास, आधुनिकता र सुविधा विस्तारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले निजी क्षेत्रकै सल्लाह र सुझावमा आवश्यक नीतिगत व्यवस्थापन गर्दै आएको उल्लेख गर्नुभयो । आवगमन क्षेत्रमा नितिगत स्थिरता दिने प्रयासस्वरूप नै चालु आवमा विद्युतीय सवारीसाधनमा कुनै पनि कर वृद्धि नगरिएको उहाँले बताउनुभयो । 

“सरकारले राजस्वको स्रोत बढाउनुपर्ने दबाबका बिच पनि विद्युतीय सवारीसाधनको आयातमा कुनै पनि कर बढाएको छैन,” उहाँले भन्नुभयो, “नीतिगत स्थिरता र समसामयिक परिमार्जनमा सरकार असाध्यै संवेदनशील छ ।”

मुलुकमा लगानी प्रवर्धनका लागि अनुकूल वातावरण निर्माण गर्न वर्तमान प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली नियुक्त भएकै दिनदेखि प्रयास थालेको र त्यसको असर स्वरूप समग्र अर्थतन्त्रका सूचक पनि सकारात्मक बन्दै गएको उहाँको भनाइ थियो । अर्थतन्त्रमा आशा लाग्दो सुधार भइरहेको र सुधारको गतिलाई तीव्रता दिन सरकार र निजी क्षेत्रले अझै प्रयास गर्नुपर्ने बताउनुभयो । 

सो अवसरमा उहाँले काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा बृहत्  आकारको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न आवश्यक तयारी भइरहेको भन्दै तीन वर्षभित्र निर्माण सम्पन्न हुने दाबी गर्नुभयो ।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले मोबिलिटी क्षेत्रको दिगो विकासका लागि स्थिर नितिगत व्यवस्थामा जोड दिनुभएको थियो । नाइमाले सवारी व्यवसाय मात्र नहेरेर समग्र आवागमन क्षेत्रको बहुआयामिक विकास गर्ने गरी काम गर्न चाहेको उहाँको भनाइ थियो ।नाइमा मोबिलिटी एक्सपोमा विभिन्न विक्रेता कम्पनीले ३५ नयाँ मोडलका सवारीसाधन पनि सार्वजनिक गरेका छन् ।