• २१ साउन २०८२, बुधबार

कर्णाली प्रदेशसभाको छैंटौ अधिवेशन अन्त्य

blog

कर्णाली प्रदेशसभा बैठक । तस्बिरः मुना हमाल

मुना हमाल

सुर्खेत, साउन २१ गते । कर्णाली प्रदेशसभाको छैंटौ अधिवेशन अन्त्य भएको छ । बुधबार राति १२ बजेदेखि अन्त्य हुनेगरी प्रदेश सरकारको सिफारिस र प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैंटौं अधिवेशन अन्त्य गर्नुभएका सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो । 

बुधबार अधिवेशनको ३४ औं बैठक बसेर  छैटौँ अधिवेशन समापन भएको  हो । प्रदेशसभाको चालु अधिवेशनमा ३४ वटा बैठक बसेका छन् । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो पठक वैशाख २८ गते बसेको थियो ।  यस अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गर्नुका साथै विभिन्न विधेयकहरु टेबुल गर्नुका साथै विधेयकहरु पारित गरेको छ । 

यस अधिवेशनले विशेष प्रस्तावसहित कर्णाली प्रदेश विनियोजन विधेयक २०८२, कर्णाली प्रदेश आर्थिक विधेयक पारित गरेको छ । कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार बसेको छैटौँ अधिवेशनको अन्तिम बैठकले पारित गरेको छ । यसै अधिवेशनमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसमम्तले पारित भएको छ । 

त्यस्तै, छैटौँ अधिवेशनको अवधिमा कर्णाली आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भइ सामान्य छलफलपछि विषयगत समितिमा पठाइएको छ । कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको थियो  । उक्त विधेयक सभामा छलफलपछि सामाजिक विकास समितिमा दफावार छलफलका लागि पठाइएको छ ।