वेलिङ्टन, साउन २१ गते । न्युजिल्यान्डको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमास (अप्रिल-जुन) मा बढेर ५.२ प्रतिशत पुगेको छ । श्रम बजारमा लगातार कमजोरी देखिँदै गएको राष्ट्रिय तथ्याङ्क विभाग स्ट्याट्स एनजेड ले बुधबार जानकारी दिएको छ ।
मार्चमा बेरोजगारी दर ५.१ प्रतिशत थियो भने अघिल्लो वर्षको यही अवधिमा ४.७ प्रतिशत थियो । अहिले देशभर एक लाख ५८ हजार व्यक्ति बेरोजगार छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ हजारले (११ प्रतिशतले) बढी हो । स्ट्याट्स एनजेडका श्रम विश्लेषक जेसन एट्टवेलका अनुसार, पछिल्ला केही वर्षमा श्रम बजारको अवस्था उल्लेखनीय रूपमा कमजोर हुँदै गएको छ ।
सन् २०२२ को जुनयता बेरोजगारी दरमा १.९ प्रतिशत अङ्कको वृद्धि भएको छ । बेरोजगारी मात्र होइन, श्रम बजारको समग्र अवस्थालाई देखाउने अन्डरयुटिलाइजेसन दर पनि बढेर १२.८ प्रतिशत पुगेको छ । यो दर मार्च त्रैमासमा १२.४ प्रतिशत थियो भने एक वर्षअघि ११.९ प्रतिशत थियो ।
यद्यपि तलब वृद्धि भइरहेको छ, यसको गति भने सुस्तिएको छ । वार्षिक तलब वृद्धिदर ४.३ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । औसत घण्टाको तलब ४.५ प्रतिशतले बढेर ४३.३९ न्युजिल्यान्ड डलर (लगभग २५.६६ अमेरिकी डलर) पुगेको छ । श्रम बजार कमजोर बनेपछि धेरै युवा शिक्षातर्फ फर्किएका छन् । १५ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीको सङ्ख्या ५ प्रतिशतले बढेर ३ लाख ७९ हजार नौ सय पुगेको छ ।
युवाको रोजगार र सहभागिता दर घटेर क्रमशः ५३.१ र ६२.३ प्रतिशतमा झरेका छन् । तर, रोजगार, शिक्षा वा तालिममा नरहेका (नीट) युवाको दर भने १२.२ प्रतिशतमै स्थिर रहेको स्ट्याट्स एनजेडले जनाएको छ । रासस/सिन्ह्वा