चन्द्र पन्दाक
ताप्लेजुङ, साउन २१ गते। ताप्लेजुङमा लम्पी स्किन रोगको सङ्क्रमणबाट दुई वटा पशुचौपाया मरेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लम्पी स्किन सङ्क्रमित दुई वटा पशुचौपाया मरेका हुन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा. रोशन दाहालका अनुसार लम्पी स्किन रोग सङ्क्रमणकै कारण दुई वटा पशुचौपाया अर्थात् गाई मरेका हुन्। हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा ५४ वटा पशुचौपाया लम्पी स्किनबाट सङ्क्रमित भएको र सङ्क्रमितमध्ये दुई वटा गाई मरेको दाहालले जानकारी दिनुभयो।
उहाँका अनुसार सिदिङ्वा गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा एक/एक वटा गाई लम्पी स्किन रागको सङ्क्रमणबाट मरेका छन्। हालसम्म जिल्लाका नौमध्ये मिक्वाखोला र पाथीभरा याङ्वरक गाउँपालिकामा मात्र पशु चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखा नपरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बाँकी एकमात्र फुङ्लिङ नगरपालिकासहित सात वटा स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखिएको छ।
केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा १९ पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ। यस्तै मेरिङ्देन गाउँपालिकामा १२ वटा, सिरिजङ्घा गाउँपालिकामा नौ, आठराई त्रिवेणी गाउँपालिकामा आठ, फक्ताङ्लुङ, मैवाखोला र सिदिङ्वा गाउँपालिकामा दुई–दुई वटा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ।