मस्को, साउन २१ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफसँग भेटवार्ता गर्नुभएको क्रेमलिनले जनाएको छ । यो भेटवार्ता ह्वाइट हाउसले रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न दिएको समय सीमाको केही दिनअघि भएको हो ।
यदि शान्ति सम्झौता नभए रुसको तेल किन्ने देशहरूलाई पनि असर पर्न सक्ने गम्भीर आर्थिक दण्डको सम्भावना छ । क्रेमलिनले यस भेटवार्ताका थप विवरणहरू तुरुन्तै प्रदान गरेको छैन । यसअघि, विटकफले रूसी राष्ट्रपतिको लगानी र आर्थिक सहयोगका लागि दूत किरिल दिमित्रिएभसँग क्रेमलिनबाट एक ढुङ्गा फ्याँक्ने जर्याडे पार्कबाट बिहानको पैदल यात्रा गर्नुभएको तासले प्रसारण गरेको फुटेजले देखाएको छ ।
दिमित्रिएभले हालैका महिनाहरूमा इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधिमण्डलबिच भएका तीन चरणका प्रत्यक्ष वार्ताहरू र रुसी तथा अमेरिकी अधिकारीबिचका छलफलहरूमा मुख्य भूमिका खेल्नुभएको थियो । रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि भएको तीन वर्षे युद्ध अन्त्य गर्न यी वार्ताहरूले कुनै प्रगति हासिल गर्न सकेका छैनन् ।
पुटिनका लागि ट्रम्पको समयसीमा शुक्रबार समाप्त हुन्छ । वासिङ्टनले हत्या नरोकिए ‘कडा भन्सार शुल्क’ र अन्य आर्थिक दण्डको धम्की दिएको छ । युद्धका लागि मनोबल र जनताको रुचि घटाउने उद्देश्यले युक्रेनको नागरिक क्षेत्रमा रुसले बढ्दो आक्रमण गरेकोमा ट्रम्पले पुटिनप्रति बढ्दो निराशा व्यक्त गर्नुभएको छ । पछिल्ला महिनाहरूमा ट्रम्पले रुसी राष्ट्रपतिलाई नरम हुन आग्रह गर्नुभए पनि तीव्र आक्रमणहरू भएका छन् ।
मङ्गलबारदेखि बुधबारसम्म रुसी सेनाले युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रहेको मनोरञ्जन केन्द्रमा आक्रमण गरी दुई जनाको ज्यान लिएको र दुई बालबालिका सहित १२ जना घाइते भएको क्षेत्रीय गभर्नर इभान फेडोरोभले बुधबार बताउनुभएको छ । रुसी सेनाले यस क्षेत्रमा कम्तीमा चार पटक आक्रमण गरे र सुरुमा शक्तिशाली ग्लाइड बमहरूले आक्रमण गरे ।
“यो आक्रमणमा कुनै सैन्य अर्थ छैन । केवल धम्क्याउनका लागि क्रूरता मात्र छ”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले टेलिग्राममा पोस्ट गरेर भन्नुभयो । युक्रेनले जाडोको तयारी गरिरहेको बेला रुसले युक्रेनी पावर ग्रिड र तताउने ग्यास सुविधाहरूमा पनि आक्रमण गरेको जेलेन्स्कीले बताउनुभयो ।
पश्चिमी विश्लेषकहरू र युक्रेनी अधिकारीहरूले पुटिनले समयको खेल खेलिरहनुभएको र रुसी सेनाले युक्रेनको थप भूमि कब्जा गर्न खोज्दा गम्भीर वार्तालाई टालिरहेको बताएका छन् । वसन्तमा सुरु भएको र शरद ऋतुसम्म जारी रहने अपेक्षा गरिएको रुसी आक्रमण गत वर्षको भन्दा छिटो अगाडि बढिरहेको छ तर ढिलो र महँगो लाभहरू मात्र प्राप्त गरिरहेको छ र कुनै प्रमुख सहरहरू कब्जा गर्न सकेको छैन । फ्रन्ट लाइनको स्थिति युक्रेनी सेनाहरूका लागि गम्भीर छ तर रक्षा ध्वस्त हुने अवस्थामा नभएको विश्लेषकहरूले बताएका छन् ।
मङ्गलबार ट्रम्पले रुसी तेल किन्ने राष्ट्रहरूमा भन्सार शुल्क लगाउने आफ्नो धम्कीको सम्बन्धमा ‘हेरौँ के हुन्छ’ भन्नुभयो । यसले चीन र भारतमा आयात करमा नाटकीय वृद्धि गर्न सक्छ । “भोलि हाम्रो रुससँग बैठक छ”, ट्रम्पले भन्नुभयो, “हेरौँ के हुन्छ । त्यस समयमा हामी त्यो निर्णय गर्नेछौँ ।” आफूले सार्वजनिक रूपमा कुनै निश्चित शुल्क दरमा प्रतिबद्धता नजनाएको ट्रम्पले बताउनुभयो । क्रेमलिनमाथि कूटनीतिक र आर्थिक दबाब बढाउनाले रुस-अमेरिका सम्बन्धहरू बिग्रँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय तनाव बढाउने जोखिम छ ।
वासिङ्टनस्थित सेन्टर फर युरोपियन पोलिसी एनालिसिसले यस हप्ता एक मूल्याङ्कनमा हालैका वर्षहरूमा गठबन्धन देशहरूसँग रुसको पश्चिमी भागमा सैन्य निर्माण सहित ‘क्रेमलिनले नाटोसँग व्यापक टकरावका लागि तयारी गरिरहेको छ भन्ने स्पष्ट सङ्केतहरू छन्’ भन्दै चेतावनी दिएको थियो । पुटिनले चीन, उत्तर कोरिया र इरानसँग रुसको सैन्य सम्बन्ध बलियो बनाउनुभएको छ ।
यसैबिच, नाटोले मङ्गलबार युक्रेनमा ठुला पश्चिमी हतियार प्याकेजहरूको नियमित डेलिभरी समन्वय गर्न थालेको बताएको छ । युरोपेली सहयोगीहरू र क्यानाडाले संयुक्त राज्य अमेरिकाबाट ढुवानी गर्ने योजना बनाएका अधिकांश उपकरणहरू किनिरहेका छन् । ट्रम्प प्रशासनले युक्रेनलाई कुनै पनि हतियार सहयोग गरिरहेको छैन ।
पुटिनले आफू सम्झौता गर्न तयार हुनसक्ने कुनै सङ्केत दिनुभएको छैन । बरु उहाँ र वरिष्ठ क्रेमलिन अधिकारीहरूले देशको सैन्य शक्तिको प्रशंसा गर्नुभएको छ । पुटिनले गत हप्ता रुसको नयाँ हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा गर्नुभयो । उक्त मिसाइललाई उहाँको भनाइअनुसार हालको नाटो वायु रक्षा प्रणालीहरूले रोक्न सक्दैनन् ।
यसैबेला, रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले युक्रेन युद्धले रुस र अमेरिकालाई सशस्त्र द्वन्द्वमा ल्याउन सक्ने चेतावनी दिनुभएको छ । यसको जवाफमा ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू पुनःस्थापना गर्न आदेश दिनुभयो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार विटकफको भ्रमणलाई स्वागत गर्नुभएको छ । “हामी (विटकफसँगको वार्ता) महत्त्वपूर्ण, ठोस र धेरै उपयोगी ठान्दछौँ”, उहाँले भन्नुभयो ।
ट्रम्पले सुरुमा मस्कोलाई ५० दिनको समयसीमा दिनुभएको थियो, तर पछि क्रेमलिनले युक्रेनी सहरहरूमा बम प्रहार गर्न जारी राखेपछि आफ्नो अल्टिमेटम अगाडि बढाउनुभयो । तथापि, ट्रम्प आफैँले तिनीहरूको प्रभावकारितामा शङ्का गर्दै आइतबार रुसले ‘प्रतिबन्धहरूबाट बच्न धेरै राम्रो साबित भएको छ’ भन्नुभयो ।
“तिनीहरू चतुर चरित्रका छन्”, उहाँले रुसीहरूका बारेमा भन्नुभयो । क्रेमलिनले आफ्नो छिमेकीमाथि सन् २०२२ फेब्रुअरीको आक्रमणपछि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले सीमित प्रभाव पारेको छ भनी जोड दिएको छ । प्रतिबन्धहरूले मस्कोको युद्ध मेसिनमा प्रभाव पारिरहेको र पश्चिमी सहयोगीहरूले तिनीहरूलाई बढाउनुपर्ने युक्रेनले बताएको छ । रासस/एपी