• २१ साउन २०८२, बुधबार

उपत्यकासहित ४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

blog

तस्बिरः एपिएफ

काठमाडौँ, साउन २१ गते। मनसुन सुरु भएदेखि काठमाडौं उपत्यकासहित सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ। 

काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। 

त्यसैगरी कोशी प्रदेश अन्तर्गत मोरङ्गको बखरी र ओखलढुङ्गाको हर्कपुर, मधेश प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिराहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरीया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मङ्गलटार, नुवाकोटको खरानीटार, चितवनको भालढुङ्गा, दोलखाको लिङ्कन बजार र सिङ्गटी तथा रसुवाको तातेपानीमा बेस स्थापना भएको छ। 

थापाका अनुसार गण्डकी प्रदेश अन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पुर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रूपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशस्थित कैलालीको खानी डाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ।

यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्त्वपूर्ण भूमिका रहने भएकोले देशभरी एक लाख ६८ हजार ९ सय ५६ जना विपद् सुचक तयार गरेको छ। देशभर ९ सय ९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको छ।