• २१ साउन २०८२, बुधबार

पृथ्वीराजमार्गमा पहिरोको जोखिम, रातको समयमा यात्रा नगर्न आग्रह

blog

अमरराज नहर्की

तनहुँ, साउन २१ गते । यहाँ परेको वर्षाले निर्माणधिन पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड सहायक राजमार्गको सडक सञ्जाल प्रभावित भएका छन् । 

वर्षाले गर्दा हाल निर्माण चरणमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा पहिरो लगायतको जोखिम रहेकोले सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा सबैमा आग्रह गरिएको छ । 

प्रशासकीय अधिकृत विकास श्रेष्ठद्धारा बुधबार जारी विज्ञप्तिमा पृथ्वीराजमार्ग खण्डका अधिकांश भागमा चार लेन सडक सञ्चालनमा आए पश्चात सवारी दुर्घटना उल्लेख्य रूपमा बढ्दै गएको एवं यस्तो दुर्घटना सडकका निश्चित स्थानहरूमा बढी मात्रामा हुने गरेको पाइएकाले सर्तकता अपनाउन सूचित गरिएको छ ।  

यस प्रकारको समस्याको अल्पकालिन एवं दिर्घकालिन समाधान खोज्नु पर्ने विज्ञप्तिमा उल्लेख छ । पृथ्वीराजमार्ग, डुम्रे बेँसीसहर सडकखण्ड लगायत ग्रामीण सडकमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउनुहुन र रातको समयमा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन सूचित गरिएको छ । 

यात्रा गर्नु परेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्र गर्न सर्वसाधारण र सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ । हाल देशभर मनसुनी वायुको प्रभावको कारण मध्यम देखि भारी वर्षा भइरहेको र आगामी दिनमा समेत वर्षाको सम्भावना रहेकोले सर्तकता अपनाउनु पर्ने विज्ञप्तिममा उल्लेख छ । 

श्रावण २० गतेका दिन जिल्ला प्रशासन कार्यालय, तनहुँमा राजमार्ग सुरक्षा तथा अवरोध हटाउने जिल्ला समन्वय समितिको बैठक बसी पृथ्वी राजमार्गको तनहुँ खण्डमा पर्ने बढी दुर्घटना ग्रस्त क्षेत्रहरूको तुलनात्मक अवस्थाको विश्लेषण गरी सरोकारवालाहरूको सुझाव अनुसार पाँच जोखिम स्थान पहिचान गरिएको जनाइएको छ । आफू गन्तव्यमा पुग्ने सडकको अवस्था बुझेर मात्रा यात्रा गर्न सूचित गरिएको छ ।  

दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल गर्ने, तनहुँ जिल्लाभित्र पर्ने पृथ्वी राजमार्ग खण्डमा घटेका दुर्घटना सख्याका आधारमा पाँच प्रमुख जोखिमयुक्त स्थान (ट्राफिक प्रहरीको समन्वयमा) पहिचाहन गरी प्राविधिक पक्षको अध्ययन गरी सुधारका आवश्यक उपायहरू अवलम्बन गर्न मुग्लिन पोखरा सडक विस्तार आयोजना पूर्वी र पश्चिम खण्ड लाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

राजमार्गमा हुने अवरोध समन्वयात्मक रूपमा हटाउन जिल्ला प्रशासन कार्यालय तनहुँबाट तर्जुमा भएको राजमार्ग सडकमा हुने अवरोध हटाउने समूह रोष्टरसहितको कार्ययोजना २०८२ स्वीकृत गरिएकको उहाँले जानकारी दिनुभयो ।  

सबै सरोकारवाला निकायहरू समन्वयात्मक रूपमा परिचालित भई कार्यान्वयन गर्ने गराउने निर्णय समेत भएको प्रजिअ अधिकारी बताउनुहुन्छ । पृथ्वी राजमार्ग, डुम्रे बेँसीसहर सडक खण्ड लगायत स्थानीय ग्रामिण सडकहरूमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउन प्रशासनद्वारा आग्रह गरिएको छ ।

ऐनापहराको दुर्घटना प्रति चासो

यसैबिच पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा साउन १८ गते गते पार्किङ गरिराखेको ग. २ ख. १०७७ नम्बरको बस पछाडितर्फ आफै गुडेर भएको दुघर्टना प्रति तनहुुँ प्रशासनले चासो राखेको छ । 

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, डिभिजन सडक कार्यालय तनहुँका प्रतिनिधि र इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख समेतले स्थलगत अवलोकन गरिएको थियो ।

सडकबाट तल मर्स्याङ्दी नदी किनारमा बस खस्दा पाँच यात्रु घाइते हुनुका साथै बसमा क्षति भएको थियो । अवलोकन पश्चात सरोकारवालालाई सुझाव दिइएको छ । 

पर्यटकीयस्थल ऐनापहराको पार्किङ्गस्थल सड़क भन्दा अग्लो स्थानमा रहेकोले सवारी साधनहरू कतिपय अवस्थामा आफै पछाडी हट सक्ने सम्भावना देखिएकाले उक्त पार्क स्थल सडक भन्दा होचो बनाई सम्भावित दुर्घटना न्युन गर्न सम्बन्धित पालिकाले आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

ऐनापहरास्थित पार्कका गतिविधिले पृथ्वीराजमार्गको सो खण्ड भई यात्रा गर्ने सवारी चालकको ध्यान पार्कतर्फ केन्द्रित हुँदा दुर्घटना हुन सक्ने हुँदा सो नियन्त्रण गर्न पालिकाले आवश्यक प्रवन्ध मिलाउने, डिभिजन सडक कार्यालयले ट्राफिक प्रारीसँग समन्वय गरी आवश्यक ट्राफिक सङ्केतहरू अध्यावधिक गनेै साथै सडक छेउको कन्फिडेन्स ब्लक मर्मत सम्भार गरी अध्यावधिक गर्ने र सम्बन्धित पालिकाले ऐनापहरा पार्क छेउको जमिन सम्याउने र पुर्ने कार्य गरी सुरक्षित बनाउन पहल सुझाव दिइएको प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सो दुर्घटनामा पाँच जना घाइते भएका थिए ।