• २१ साउन २०८२, बुधबार

क्रिकेटप्रति उत्साह बढ्दै, विद्यालयस्तरको प्रतियोगिता हुँदै

blog

एमएम एकेडेमीले क्रिकेट प्रतियोगिताको बारे जानकारी गराउँदै । तस्बिर : शङ्कर केसी

शङ्कर केसी

सल्यान, साउन २१ गते । सल्यानमा पछिल्लो समय क्रिकेट खेलतर्फ आकर्षण बढेको छ । जिल्लामा क्रिकेटप्रति उत्साह देखेपछि जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको छ । 

सदरमुकाम खलङ्गामा रहेको नीजि विद्यालय एमएम एकेडेमीले दोश्रो जिल्ला स्तरीय एमएम कप क्रिकेट प्रतियोगिता–२०८२ आयोजना गरेको हो । आगामी भदौ ११ गतेदेखि १४ गतेसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुने एमएम एकेडेमीका अध्यक्ष महेश देवकोटाले जानकारी दिनुभयो ।

विद्यार्थीमा र अन्य युवाहरूमा पनि क्रिकेटप्रतिको चासो देखिएको भन्दै उहाँले क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै र खेलकुद विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा सामुदायिक तथा निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थी खेलाडीलाई सहभागी बनाइने छ । 

प्रतियोगितामा पहिलो र दोस्राे हुने विजेतालाई क्रमश: ३० हजार, २० हजार रुपियाँ प्रदान गरिने र म्यान अफ दि म्याच, प्लेयर अफ दि सिरिज लगायतका विधामा पनि पुरस्कार दिइने एकेडेमीले जनाएको छ ।

श्रोत जुट्यो भने पुरस्कार राशी बढाउने लक्ष्य रहेको भन्दै अध्यक्ष देवकोटाले प्रतियोगिताको न्यूनतम लागत दुई लाख एक हजार ८०० रुपियाँ अनुमान गरिएको बताउनुभयो । सदरमुकाम खलङ्गास्थित लुहापिङ खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा सहभागी विद्यालयले प्रति टोली तीन हजार पाँच सय रुपिँया दर्ता शुल्क बुझाउनुपर्ने छ ।

विद्यालय तहमै यस्ता खेलकुद प्रतियोगिता आयोजना गर्दा विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने अपेक्षा गरिएको छ । क्रिकेट सङ्घ सल्यानका अध्यक्ष सबिन हमालले विद्यालयस्तरमै प्रतियोगिता हुँदा विद्यार्थीमा खेलप्रतिको बुझाइ र महत्त्वबारे जानकारी प्राप्त हुने र उनीहरूलाई सानो उमेरमै सिक्ने, हारेपछि फेरि उठ्ने र जीतसँगै नम्र हुने अनुभव मिल्ने बताउनुभयो । विद्यालयस्तरबाट उत्पादन भएका खेलाडीहरू प्रदेश, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तरसम्म पुग्ने अवसर पाउने उहाँको विश्वास छ ।

दोस्रो संस्करणको एमएम कप क्रिकेट प्रतियोगिताको तयारीलाई अगाडि बढाइएको र प्रतियोगितामा आवश्यक पर्ने जनशक्ति लगायत आवश्यक सामाग्रीको व्यवस्थापन भैरहेको एमएम एकेडेमीका प्रिन्सपल पूर्णबहादुर बस्नेतले बताउनुभयो । सल्यानमा यसअघि २०७६ सालमा पहिलोपटक जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।