शशिधर पराजुली
विराटनगर, साउन २१ गते । दुई वर्षअघि महामारीको रूप लिएर कोशी प्रदेशमा हजारौँ पशुचौपायाको ज्यान लिएको लम्पी स्किन रोगको प्रकोप पुनः बल्झिएको छ । दुई वर्षअघि सञ्चालन गरेको खोप अभियानका कारण नियन्त्रणमा रहेको यो रोगविरुद्ध तीनै तहका सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन नसक्दा बल्झिएको निष्कर्ष निकालिएको छ ।
कोशी प्रदेशमा दुई वर्षपछि लम्पी स्किन रोगबाट किसानहरूले फेरि क्षति बेहोर्न थालेका छन् । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार अघिल्लो सातासम्म २२ हजार १२२ गाई र भैंसी यसबाट सङ्क्रमित भएका छन् भने ६३७ को मृत्यु भइसकेको छ ।
यस पटक सङ्क्रमणको सबैभन्दा बढी मार झापा जिल्लाले खेपेको छ, जहाँ १४ हजार ६९२ पशु बिरामी पर्दा ४१० ओटाको मृत्यु भएको छ । झापापछि मोरङ, इलाम र सुनसरीमा पनि सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । प्रदेशका सोलुखुम्बु, ओखलढुङ्गा र सङ्खुवासभा बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ ।
दुई वर्षअघि २०७९ फागुनदेखि २०८० साउनसम्म यो रोगले कोशी प्रदेशमा नौ हजार ४२१ पशुको ज्यान लिएको थियो भने दुई लाख ८१ हजारभन्दा बढी पशु प्रभावित भएका थिए । त्यस बेला इलाम र झापा सबैभन्दा बढी प्रभावित जिल्ला थिए ।
लम्पी स्किनलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी नियमित खोप कार्यक्रममा समावेश नगर्दा रोग पुन महामारीको रुपमा फैलिएको विज्ञहरुले बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवले लम्पी स्किनलाई अरु सङ्क्रामक रोगजस्तै नियमित खोप कार्यक्रममा समावेश गर्ने निर्णय लिन ढिलाई गर्न नहुने बताउनुभयो । गतवर्ष खोप कार्यक्रमलाई निरन्तरता दिन सकिएको भए अहिले यसको प्रभाव न्यून देखिने उहाँको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, झापाकी प्रमुख डा. शीतल भट्टराईले दुई वर्षअघि खोप लगाएका पशुहरू अहिले सुरक्षित रहेको तर त्यसबेला चार महिनाभन्दा कम उमेरका बाछाबाछीलाई खोप नलगाइएकाले अहिले तिनीहरुमा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले पनि लम्पीविरुद्धको खोपलाई नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. यादवका अनुसार प्रदेशमा बर्सेनि करिब ८ देखि १० लाख डोज खोप आवश्यक पर्छ । तर यस वर्ष जम्मा चार लाख डोज मात्र प्राप्त भएको छ । यसले सबै जिल्लाको आवश्यक पूरा गर्न नसक्ने अवस्था छ भने खोप लगाउने समय पनि नमिलेको उहाँको भनाइ छ । यो रोगको सङ्क्रमण जेठदेखि भदौसम्म फैलिने गरेकोले रोकथामका लागि चैत महिनाभित्र खोप लगाइसक्नु पर्ने उहाँको सुझाव छ ।
भ्याक्सिन लगाएपछि त्यसले काम गर्न करिब एक महिना लाग्ने भएकाले त्यसलाई ध्यानमा राखेर खोप अभियान चलाउनुपर्ने र एक पटक खोप लगाएपछि एक वर्षसम्म पशुलाई सङ्क्रमणबाट जोगाउन सकिने उहाँले बताउनुभयो । यस पटक पनि सङ्क्रमण देखिएपछि मात्र खोप लगाउन थालिएकोले त्यसको प्रभाव कम परेको उहाँको भनाइ छ ।
प्रदेश सरकारले खोप अभियान चलाउने हो भने कम्तीमा दुई करोड रुपियाँ बजेट आवश्यक पर्ने अनुमान डा. यादवले गर्नुभयो । सरकारले अहिले नेपाली कम्पनीले उत्पादन गरेको लम्पीविरुद्धको खोप प्रतिडोज २४ रुपियाँको दरले खरिद गरेर वितरण गरिरहेको जानकारी दिनुभयो । किसानहरुले व्यक्तिगतरुपमा पनि खरिद गर्न सक्ने उक्त खोप बजारमा ६५ रुपियाँसम्ममा पाइने उहाँले जानकारी दिनुभयो ।
डा. यादवले हरेक स्थानीय तहले थोरै-थोरै बजेट विनियोजन गर्ने नीतिगत व्यवस्था लागू गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो भने यो रोगविरुद्धको खोपलाई प्रभावकारी बनाउन सम्भव रहेको बताउनुभयो । कोशी प्रदेशमा १३ लाख गाई भैंसी रहेको राष्ट्रिय पशु गणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । तर यथार्थमा भने त्योभन्दा बढी रहेको पशु प्राविधिकहरुको अनुमान छ ।