• २२ साउन २०८२, बिहिबार

सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

blog

फाइल तस्बिरः गोरखापत्र

रौतहट समाचारदाता

रौतहट, साउन २१ गते । पारदर्शिता कायम गर्ने उद्देश्यले वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिए पनि रौतहटका विभिन्न स्थानका लाभग्राहीले भत्ता रकम बुझ्न सास्ती भोग्नु परेको भन्दै गुनासो गरेका छन् । 

भत्ता वितरण गर्ने अधिकांश बैङ्क अपाङ्गतामैत्री तथा वृद्धवृद्धामैत्री नहुँदा, पायक पर्ने स्थानमा नहुँदा र बैङ्क कर्मचारीको व्यवहारसमेत मैत्रीपूर्ण नहुँदा भत्ता रकम प्राप्त गर्न निकै सास्ती खेप्नु परेको लाभग्राहीको गुनासो छ । 

वृद्धवृद्धा, अपाङ्गता र अशक्त लाभग्राहीका लागि त्यस्ता बैङ्कबाट भत्ता बुझ्न निकै असहज भएको बताउनुहुँदै राजदेवी नगरपालिका–३ का ज्येष्ठ नागरिक अनुठा राउत (पक्षाघातबाट पीडित) ले घरबाट तीन किलोमिटर धाएर बैङ्क पुग्न नसकिने गुनासो गर्नुभयो । उहाँ त्रैमासिक भत्ता बुझ्नका लागि बुहारीका साथमा नेपाल बैङ्क लिमिटेडको शाखामा पुग्नुहुन्छ । बुहारी मञ्जुदेवी भन्नुहुन्छ, “हिँडडुल गर्न नसक्ने र आफैँ बस्न पनि नसक्ने अवस्थाका ससुरालाई बडो मुस्किलले बैङ्कसम्म लगियो । पालो कुर्न लाइनमा बसियो । यस्तो अवस्थामा बैङ्कका कर्मचारीले सहानुभूति देखाउलान् भन्दा उल्टै झर्कोफर्को पो गर्छन् ।”

यस्तै ईशनाथ नगरपालिका–९ का जोबैर मियाँ पनि अशक्त हुनुहुन्छ । साथमा घरका कुनै सदस्य लिएर बैङ्क पुग्नुपर्ने अवस्था छ । घरदेखि बैङ्क आवतजावत गर्न दुई जनाको झन्डै चार/पाँच सय रुपियाँ सवारी खर्च लाग्छ । गिरी टोलमा रहेको दोस्रो तलामा अवस्थित वाणिज्य बैङ्कमा पुग्न निकै कष्टकर हुन्छ उहाँलाई । तल्लो तलामा बैङ्क हुने हो भने भत्ता बुझ्न सहज हुन्थ्यो कि भन्ने उहाँको अभिव्यक्ति छ । 

राजपुर नगरपालिका–१ का ८५ वर्षीय सेख लेयाकत पनि पक्षाघातबाट पीडित हुनुहुन्छ । एसबिआई बैङ्कबाट भत्ता बुझ्न उहाँ बिहानै घरबाट निस्कनुहुन्छ । गाडी भाडासमेत सरसापट गरेर बोक्नुपर्ने समस्या रहेको बताउँदै उहाँले बैङ्कमा घन्टौँपछि पालो आए पनि बैङ्क कर्मचारीको बोली र व्यवहारले मन दुख्ने दुःखेसो गर्नुभयो ।  

यता रौतहटकै विकसित मुख्य बजारमध्ये एक मानिने चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा रहेको नेपाल बैङ्क र कृषि विकास बैङ्कभन्दा बाहेकका सबै वाणिज्य तथा विकास बैङ्क अपाङ्ग तथा वृद्धवृद्धामैत्री छैनन् । भाडामा घर लिएर सुरक्षाको दृष्टिकोणले दोस्रो वा तेस्रो तलामा अवस्थित ती बैङ्क अपाङ्गता भएका र अशक्त वृद्धवृद्धाका लागि अनुपयुक्त रहेको चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएका वित्तीय संस्थाले अशक्त वृद्धवृद्धा र अपाङ्गता भएका लाभग्राहीलाई सेवा सहज प्रदान गर्न विशेष काउन्टर, प्राथमिकता सेवा र आवश्यक परेमा घरदैलो सेवा पु¥याउने व्यवस्था गरे भत्ता वितरण प्रभावकारी हुने छ । यसका लागि स्थानीय सरकार र वित्तीय संस्थाबिच सहकार्य हुनु आवश्यक छ ।”