• २१ साउन २०८२, बुधबार

सहर देखिने गरी उद्यान निर्माण

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुटवलको दृश्य उद्यानबाट बुटवल सहर हेर्नुहुँदै ।

बुटवल समाचारदाता 

बुटवल, साउन २१ गते । लुम्बिनी प्रदेश सरकारले बुटवल उपमहानगरपालिका–१३ मा बुटवल दृश्य उद्यान निर्माण गरेको छ । बुटवल–१३ मा रहेको जितेश्वरी सामुदायिक वनक्षेत्रमा अवस्थित उक्त दृश्य उद्यानलाई प्रदेश सरकारले जितेश्वरी पाणिनि उद्यानका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । 

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले बुटवल दृश्य उद्यानबाट बुटवल सहर तथा वरिपरिको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । 

बुटवल दृश्य उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले गत शुक्रबार साउन १६ गते उद्घाटन गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यले सरकारले पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध ढङ्गले पूर्वाधार विकास गरिरहेको बताउँदै सोही क्रममा बुटवल दृश्य उद्यान बनाएको बताउनुभयो । उहाँले उद्यान बनाउन सजिलो लागे पनि यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण विषय भएको भन्दै संरक्षण र संवर्धनको मुख्य जिम्मेवारी स्थानीय समुदायको हुनुपर्नेमा जोड दिनुभयो ।  सरकारले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामुदायिक सहभागितालाई जोड दिँदै पर्यटन गन्तव्यको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्य राखेको छ । 

त्यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी पार्क) को स्थलगत अनुगमन गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले पर्यटकीय स्थललाई व्यवस्थित बनाउने बताउँदै उद्यान बनाउने होडबाजी चलेको अवस्थामा भएका उद्यानलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री आचार्यले उद्यानको प्रवर्धन र विकासका क्रममा देखिने कानुनी जटिलता हटाउन प्रदेश सरकार तयार रहेकोसमेत बताउनुभयो । उहाँले जैविक विविधताको संरक्षणमार्फत वातावरण सन्तुलनमा राख्दै पर्यटन क्षेत्रलाई नागरिकको जीवनस्तर र आम्दानीसँग जोड्ने लक्ष्यमा सरकार लागिरहेको बताउनुभयो । उहाँले प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्दै आन्तरिक स्रोतसाधन सङ्कलन र परिचालनमार्फत दिगो पर्यटकीय विकासको मार्ग तय गर्नुपर्ने उल्लेख गर्नुभयो । मणिमुकुन्द सेन उद्यान फूलबारी अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । 

उद्यानमा चिडियाखाना, फूलबारी, विश्रामस्थललगायतका संरचना रहेका छन् । प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो क्षेत्रलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनेतर्फ प्रदेश सरकारले जोड दिएको छ ।