घोराही समाचारदाता
घोराही, साउन २१ गते । बर्सातका कारण खोलामा पानी बढेपछि घोराही–तुलसीपुर सडकमा सवारी आवागमन प्रभावित भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोला, हापुरखोला र कालाखोलामा पानीको सतह बढ्दा सवारी आवागमन बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले खोलामा पानीको बहाब बढ्ने र घट्ने भइरहेका कारण सवारी सञ्चालन प्रभावित भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार खोलामा पानीको सतह घटेको समयमा सवारीसाधन सञ्चालन भए पनि पानी बढ्दा बन्द हुने गरेको बताउनुभयो ।
खोलामा पानीको सतह बढ्दा अत्यावश्यक सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर हिँड्ने गरेका छन् । प्रहरी नायब उपरीक्षक शाहले सेवारखोला र हापुरखोला तर्न घोराही बसपार्क–हापुर हुँदै मजगै र कालाखोलाका लागि बिजौरीदेखि दक्षिण हुँदै महेन्द्र बहुमुखी क्याम्पस तुलसीपुर जोड्ने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग
गर्ने गरेको बताउनुभयो ।
दुई सडक अवरुद्ध
अविरल वर्षाका कारण सडकमा पहिरो खस्दा दुई सडक अवरुद्ध भएका छन् । प्रहरी नायब उपरीक्षक शाहका अनुसार दाङबाट रोल्पा तथा सल्यान जिल्ला जोड्ने दुई सडक अवरुद्ध भएका हुन् । घोराही उपमहानगरपालिका–१९ स्थित दुईखोलीमा पहिरो खस्दा घोराही–होलेरी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा घोराहीबाट रोल्पासँगै पूर्वी रुकुम जाने तथा उक्त ठाउँबाट घोराही आउने सवारीसाधन चल्न सकेका छैनन् । त्यसै गरी सडकमा पहिरो खस्दा दाङको तुलसीपुर–कालीमाटी–काल्चे सडक अवरुद्ध भएको छ । यो सडक अन्तर्गत विभिन्न स्थानमा पहिरो झर्नुका साथै डिमुरेखोला बढेर सवारी आवागमन बन्द भएको छ ।
सतर्कता अपनाउन आग्रह
सोमबारदेखि परेको अविरल वर्षासँगै राप्ती तथा बबई नदीलगायतका खोलामा पानीको बहाब बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।
मङ्गलबार जिल्ला प्रशासनले सूचना जारी गर्दै दाङसँगै रोल्पा, प्युठानलगायतका जिल्लामा मनसुन सक्रिय भई भारी वर्षा भइरहेको र राप्ती तथा बबई नदीमा पानीको बहाब बढिरहेकाले डुबान तथा कटानको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा हस्ताक्षरित सूचनामा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्ने भएकाले विशेष सतर्कता अपनाउन र सुरक्षा निकायको सम्पर्कमा रहनसमेत अनुरोध गरिएको छ । दाङमा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराहीले जनाएको छ ।