पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), साउन २१ गते । झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । भगवतीमाई गाउँपालिका–७ र ६ स्थित ज्योतिगे खोलामा पुल मर्मत नहुँदा बर्सातको समयमा स्थानीयलाई आवतजावत गर्न असहज भएको हो ।
खोलामा पुल मर्मत नहुँदा स्थानीय सोही पुलबाट जोखिम मोलेर आउजाउ गर्ने गरेकोे स्थानीय खगीसरा बुढाले बताउनुभयो । उहाँले वडा–७ र ६ स्थित जोड्ने पुल वर्षौं पहिला निर्माण भएको पछिल्लो समयमा पुलका फल्याक कुहेर झरिसकेकाले आवतजावत गर्न अप्ठ्यारो भएको बताउनुभयो ।
भगवतीमाई गाउँपालिका–७ का वडाध्यक्ष पूर्ण थापाले पुल मर्मत नहुँदा स्थानीयलाई पालिका आउन समस्या भएको बताउनुभयो । उहाँले वर्षा लागेपछि पुल जीर्ण भएको बताउनुभयो । पुल मर्मत सुरु गरिएको अब छिट्टै समस्याको समाधान गरिने वडाध्यक्ष थापाको भनाइ छ ।
उहाँले बर्सातको समयमा खोला बढेपछि तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न स्थानीयलाई समस्या भएको ज्योतिग्रे खोलाका मानबहादुर खत्रीले बताउनुभयो । उहाँले झोलुङ्गे पुलमा बिछ्याएको फलेक झरेका छन् भने तार जीर्ण भएको बताउनुभयो ।
भगवतीमाई गाउँपालिकाको मुख्य बजार बेस्तडा आउने पुल नहुँदा वर्षौंदेखि दुःख खेप्दै आएका भगवती गाउँपालिका–७ का स्थानीय चित्रबहादुर खड्काले बताउनुभयो । उहाँले विद्यार्थी, शिक्षक, स्थानीयलाई समस्या हुने गरेको बताउनुभयो ।
पुल बनाउन स्थानीय सरकारले पहल गरिरहेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले बताउनुभयो । पुलको आवश्यकता भएको ठाउँमा पुल निर्माणका लागि बजेट छुट्याएको बताउनुभयो । पुल मर्मत चाँडै सुरु गरिने केही ठाउँका लागि बजेट पनि परेको अध्यक्ष थापाको भनाइ छ ।