नवीनराज कुइँकेल
लमजुङ, साउन २१ गते । लमजुङको दोर्दी गाउँपालिकामा ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सुरुवात गरिएको छ । गाउँपालिकामा रहेका होमस्टे गाउँको प्रचारप्रचार गरी पर्यटकीय गतिविधिलाई चलायमान बनाउन यस्तो कार्यक्रम सुरुवात गरिएको हो ।
दोर्दी गाउँपालिकाका सात वटा गाउँमा होमस्टे सञ्चालन गरिएका छन् । वडा नं. २ को सल्लाबोट, वडा नम्बर ३ को श्रीमन्ज्याङ लामागाउँ, वडा नम्बर ६ को ताँजे, वडा नम्बर ७ को लप्सीबोट दैलुङमा होमस्टे सञ्चालनमा छन् । त्यसै गरी वडा नम्बर ८ को टापगाउँ, खिन्चोक गाउँ र वडा नम्बर ९ को माझगाउँ गरी सात वटा होमस्टे दर्ता गरी सञ्चालनमा छन् । यी गाउँका ५० घरमा रहेको होमस्टेमा करिब २२५ भन्दा बढी पर्यटकलाई राख्न सकिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
गाउँपालिकाको एक वडा, एक रात, एक छाक कार्यक्रमबाट होमस्टे सञ्चालन र व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया, आवश्यक भौतिक पूर्वाधार, पाहुनाको स्वागत सत्कार, अर्गानिक खानपान, सरसफाइलागयतबारे छलफल गरिने भएको छ । वडा नं. ८ को खिन्चोक गाउँबाट सुरुवात गरिएको यो कार्यक्रम सबै वडाका होमस्टेमा गरिने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
गाउँपालिकामा शून्य विन्दुबाट पर्यटन प्रवर्धनका कार्यक्रम सुरु गरिएको र यसमा गाउँका सबै स्थानीयले सकारात्मक सहयोग गर्न अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो । उपाध्यक्ष बिच्छबहादुर घलेले दोर्दी गाउँपालिकाले कृषि, पर्यटन र जलविद्युत्का माध्यमबाट समृद्ध बनाउन सकिने भएकाले कृषि र पर्यटनतर्फ अगाडि बढिरहेको बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले होमस्टेलाई थप व्यवस्थित, आवश्यक पूर्वाधार, सञ्चालन, तालिम, व्यवस्थापनलगायतमा गाउँपालिकाले सक्दो सहयोग गर्दै आइरहेको बताउनुभयो ।