अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन २१ गते । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारका मुख्य सडकमा भएका खाल्टाखुल्टीले नागरिकले दुःख खेप्न बाध्य भएका छन् । बजारभित्रको अधिकांश सडकको खाल्टाले स्थानीय व्यवसायीदेखि पैदलयात्रीले दैनिक सास्ती व्यहोर्न बाध्य भएका हुन् ।
बागलुङ नगरपालिका– २ को धौलागिरी चोक, श्रीनगरटोल, उपल्लो क्याम्पसगेट, बालमन्दिर रोड, हल्लनचोक, लायन्सचोक, शिवधाराचोक, बागलुङ नगरपालिका कार्यालय अगाडी, वडा नम्बर ३ को बुद्धचोक र वडा नम्बर ४ को उपल्लाचौर, वडा नम्बर १ को रामरेखाका सडक खण्डमा ठाउँ–ठाउँमा खाल्टाखुल्टी परेका छन् ।
सडक मर्मत नहुँदा पानी परेपछि ती खाल्टामा पानी जमेर हिलो र फोहोर जम्मा हुँदा स्थानीय र व्यवसायीलाई दुःख दिएको छ । पैदल हिँड्नेलाई मात्र होइन, मोटरसाइकल र साना सवारी साधन चलाउनेलाई समेत जोखिमपूर्ण बनेको छ ।
बजारमा सडकभरी नै खाल्टाखुल्टी हुँदा वर्षातको समयमा यात्रा गर्न कठिन भएको स्थानीयले बताउँछन् । नागरिकले दुःख पाए पनि वडा कार्यालय र नगरपालिका कार्यालयले वेवास्ता गरिरहेको नागरिकहरूको गुनासो छ ।
पानी परेपछि सडकमा खाल्टा परेको ठाउँमा पोखरी हुने र सवारी सञ्चालन हुँदा पसिल भित्रैसम्म पानीले छ्याप्ने गरेको व्यवसायीको गुनासो छ । बागलुङ नगरपालिका–२ मा क्याम्पसगेटमा मोबाइल पसल सञ्चालन गर्दै आएका रामु पौडेलले जनप्रतिनिधि र जिम्मेबार निकायले व्यवास्ता गर्दा आफुहरुले सास्ती खेपिरहनुभएको बताउनुभयो ।
“खाल्टा परेका सडक वर्षातको कारण पोखरी बनेका छन्, गाडी आउँदा पानी पसलभित्र छ्यापिन्छ,” व्यवसायी पौडेलले भन्नुभयो, “जनप्रतिनिधिहरूले यो देखिँदैन, हामी भने सधैं सास्ती खेपिरहेका छौं ।”
बागलुङको व्यस्तचोकको रुपमा रहेको क्याम्पस चोकमा खाल्टाखुल्टीको मात्र होइन बाढीको समेत समस्या रहेको व्यवसायीको गुनासो छ । “बागलुङको व्यस्तचोक हो, क्याम्पस जाने र अन्यकामले पनि यो बाटो ओहोर दोहोर गर्ने धेरै हुन्छन् । गाडी र बाईक आउँदा पानीले हिलो छ्याप्दा पैदल यात्रा गर्नेलाई निकै सास्ती भएको छ । हामी पसल गर्नेहरुलाई त सधैंको समस्या भैहाल्यो,’’ उहाँले भन्नुभयो, “खाल्टोमा जमेको पानीले दिएको दुःख एकातिर छ, अर्कोतिर यपानीपर्दा बाढी नै आउँछ । मध्यपहाडी लोक मार्गबाटै आउने भेल जम्माभएर आउँदो रहेछ । पसलभित्रै बाढी पस्न खोज्छ । नालीको सही व्यवस्थापन नहुँदा पनि हामीले दुःख पाएका छौं ।’’
यस्तै, लायन्स चोकदेखि शिवधारा चोकतर्फको सडकमा खाल्टाखुल्टीकै कारण दुर्घटनासमेत भइरहने स्थानीयको गुनासो छ । “सडक साँघुरो छ, त्यसैमा बीचैमा खाल्टा छन् । आकाशबाट दैनिक पानी परेको छ । दोहोरो सवारी पास हुँदा दुर्घटना समेत हुने गरेको छ । साईड दिन खोज्दा थुप्रै पटक मोटरसाईकल पल्टिएको छन्,’’ स्थानीय व्यवसायी शशी भट्टराईले भन्नुभयो ।
खाल्टाखुल्टीले व्यवसाय गर्नेहरुलाई धेरै नै मर्का पारेको व्यवसायी जीवन शर्माको भनाइ छ । “बर्खाको समयमा तालपोखरी बनेर सडक बसेको हुन्छ,” उहाँले भन्नुभयो, “पसलमा आउने ग्राहकहरु पनि पानी तर्किदै हिँड्दा व्यवसायमा पनि प्रभाव परेको छ ।’’
धौलागिरिचोकका स्थानीय अगमकुमार पालिखेले पटक–पटक वडा कार्यालय र नगरपालिकालाई जानकारी गराउँदा पनि समस्या समाधान नभएपछि आफैंले घर अगाडिको खाल्टो टाल्न बाध्य भएको बताउनुभयो ।
“बालमन्दिर चोकदेखि धौलागिरी चोक र लालीगुराँस चोक क्षेत्रका खाल्टा स्थानीयले नै पुरेका छन्,” पालिखेले भन्नुभयो, “मेरो पसल अगाडि ठुलो खाल्टो परेको थियो, धेरै पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि म आफैंले गिट्टी, बालुवा र सिमेन्ट प्रयोग गरेर खाल्टो टालेको हुँ ।”
उहाँले प्लास्टर गरेर टालेको खाल्टो पनि धेरै समय नटिकेको बताउनुभयो । “कालोपत्र गरेको ठाउँमा सिमेन्ट हालेर टाल्दा पनि दीर्घकालीन हुँदैन रहेछ, बनाएको केही समयमै फेरि उक्किन्छ,” पालिखेले भन्नुभयो, “सडक मर्मत गर्ने जिम्मेवारी वडा र नगरपालिकाको हो तर उनीहरूले बेवास्ता गरेका छन्, त्यसैले हामी आफैं टाल्न बाध्य भएका हौं ।”
बागलुङ नगरपालिका–२ का वडा सदस्य विदेशकुमार श्रेष्ठले सडक बोर्डमार्फत मर्मतको प्रक्रिया सुरु भएकाले वडा कार्यालयले अलग्गै काम नगरेको जानकारी दिनुभयो । ‘‘सडक बोर्डले काम थालेकाले हामीले पनि गर्दा दोहोरोपन हुने हुँदा दोहोरोपन नहोस् भनेर हामी थाती राखेका हौं,” उहाँले भन्नुभयो ।
सडक बोर्डमार्फत झन्डै एक करोड रुपियाँको टेन्डर प्रक्रियाबाट बजार भित्रको हल्लनचोकदेखि बुद्धचोक, उपल्लाचौरको आर्मी क्याम्प र बागलुङ नगरपालिका अगाडि लगायतको सडक मर्मतको काम अघि बढेको वडा सदस्य श्रेष्ठले बताउनुभयो । सडक बोर्डले असारमा सडक भत्काएर केही ठाउँमा बेस राख्ने काम गरे पनि अहिले निरन्तर पानी पर्दा सवारी साधनले खाल्टाखुल्टी पारेपछि अस्तव्यत अवस्थामा परेको छ । त्यसले झन् धेरै दुःखदिएको स्थानीय बताउँछन् ।
बागलुङ नगर उपप्रमुख राजु खड्काले सडक बोर्डले जिम्मा लिएका क्षेत्रहरुको काम सकिएपछि अन्य क्षेत्रमा नगरपालिकाले सडक मर्मत र खाल्टा टाल्ने कामलाई अगाडि बढाउने बताउनुभयो । “अलि धेरै समस्या भएको ट्राफिकचोक–आवारोड, हल्लनचोक–बुद्धचोक र उपल्लचौर आर्मी क्याम्प क्षेत्रको काम सडक बोर्डले लिएको छ, त्यो सकिएपछि बाँकी ठाउँको मर्मत कार्य अघि बढाउँछौं,” उपप्रमुख खड्काले भन्नुभयो ।
उहाँका अनुसार गतवर्ष नै मर्मत गर्नुपर्ने ठाउँहरूमा बजेट अभावले काम हुन नसकेको र जसका कारण समस्या झनै बढेको हो । “हामीले दशैंसम्म मर्मतको काम अघि बढाउने योजना बनाएका छौं,” उहाँले भन्नुभयो, “अहिले वर्षा सुरु भएकाले निरन्तरको वर्षाले सडक बोर्डको काम रोकिएको र घाम लाग्न थालेपछि मात्र काम अघि बढ्ने छ ।”