बोमलाल गिरी
नवलपुर, साउन २ गते । मोटरसाइकलको ठक्करबाट गएराति नवलपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भित्रि सडक खण्डमा गिरुवारीबाट बसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले सोहि दिशामा पैदल यात्रा गरिरहनु भएका सोही ठाउँका ३५ वर्षीया शोभा सिग्देल ठक्कर दिँदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेर गम्भीर हुनु भएकी सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
दुर्घटनामा सोही ठाउँका ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकल चालक हुप्सेकोट–२ का निशान सिंह ठकुरी घाइते भएको नेपालले जानकारी दिनुभयो । कोइरालाको मध्यविन्दु प्रादेशीक अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रेफर गरिएको र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र आवश्यक कागजात पनि नभएको पाइएको नेपालले बताउनुभयो ।