• ३२ असार २०८२, बुधबार

खानेपानीको सङ्कट समाधानमा प्रदेश सरकार क्रियाशील

blog

खानेपानीको सङ्कट प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्न मुख्यमन्त्री सिंहद्वारा पानीसहितको वारुणयन्त्रलाई बिदाइ गर्दै । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, असार ३२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको आठवटै जिल्लामा देखिएको खानेपानीको सङ्कट समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताउनुभएको छ ।

मधेश प्रदेशको विरगञ्जसहितको क्षेत्रमा देखिएको खानेपानीको सङ्कट समाधानका लागि गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशले प्रदेशका पालिकाहरुलाई वितरण गर्न राखिएको आठ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा बुधबार पठाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकबाट निर्णय भएअनुसार तत्काल प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र खानेपानी सङ्कटवाट अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्नका लागि आज विहानै पर्साको वीरगञ्ज पठाइएको बताउनुभयो । 

मुख्यमन्त्री सिंहले आज बिहान वारुणयन्त्र हरुलाई प्रभावित क्षेत्र तर्फ पठाउनुहुँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा क्रियाशील रहन सेनाका अधिकारीहरुलाई निर्देशन दिनुभयो । 

एउटा वारुणयन्त्रमा ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रवाट एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति हुने गरी एक कार्यक्रमबिच पानी भरिएको वारुणयन्त्रहरुलाई मुख्यमन्त्रीले बिदाइ गर्नुभयो । खानेपानी समस्या रहेको स्थानमा यी वारुणयन्त्रहरु २४सै घण्टा परिचालित रहने मुख्यमन्त्री सिंहले बताउनुभयो । प्रभावित क्षेत्रमा पठाइएको वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले सञ्चालन गर्ने गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमल बरालले जानकारी दिनुभयो । 

यसअघि मधेश प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न पर्साको वीरगञ्जसहितको क्षेत्रमा परिचालित गरिसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनुभयो । 

यसैगरी खानेपानी समस्या रहेको क्षेत्रमा नेपाली सेनावाट समेत ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाले जानकारी दिनुभयो । मुख्यमन्त्रीको यस प्रकारको सक्रियताले सुक्खा र खानेपानी सङ्कटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकको साथमा रहेको कुरा प्रष्ट रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाले बताउनुभयो । 

मधेश प्रदेशमा देखिएको खानेपानीको विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले सङ्घीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसँगको सवन्मयमा साधनस्रोतको अधिकतम प्रयोग गरि नागरिकको समस्या समाधान गर्नेतर्फ प्रयत्नशील रहेको उहाँले बताउनुभयो  । वीरगञ्ज पठाइएका आठ वटा वारुणयन्त्रले प्रभावित वडाहरुको घर घरमा खानेपानी वितरण गर्ने बताइएको छ ।