हुम्ला समाचारदाता
हुम्ला, असार २९ गते । हुम्लाको सर्केगाड गाउँपालिकादेखि सुर्खेत पुग्न एक दिन लाग्ने दुरीमा बर्खामा सडक बिग्रिँदा तीन दिन लगाएर पुग्नुपर्ने बाध्यता छ । हुम्ला, बाजुरा र कालीकोट खण्डको सडकमा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध गर्दा पैदल यात्रा सकसपूर्ण र अत्यासलाग्दो हुने गरेको हो ।
गत बुधबार हुम्लाको सर्केगाडबाट गाडीमा सुर्खेतका लागि छुट्नुभएका यात्रु धनबहादुर फडेराले शुक्रबार राति १० बजे मात्र सुर्खेत पुगेको बताउनुभयो । सुरुमै खच्चामा छ घण्टा पहिरोले सडक अवरुद्ध हुँदा रोकिनु परेकामा कालीकोट पुग्दासम्म यही क्रम जारी रहेको र तीन दिनमा बल्लतल्ल सुर्खेत पुगेको जानकारी उहाँले दिनुभयो । हुम्लाबाट कालीकोटको खुलालु पुग्न साढे दुई दिन लागेको बताउँदै उहाँले बर्खामा स्थलमार्गको यात्रा सकस र कष्टकर रहेको उल्लेख गर्नुभयो ।
सर्केगाडबाट नेपालगन्ज जान लाग्नुभएका अर्का यात्रु कुलबहादुर छत्यालले बर्खामा पैदल यात्रा लामो मात्र नभएर जोखिम पनि उत्तिकै रहेको बताउनुभयो । उहाँले कति बेला, कहाँ के हुने हो, केही भन्न नसकिने अवस्था रहेको जनाउनुभयो । धेरै स्थानमा पहिरोले छोपिएको सडकलाई सफा गर्न यात्रुले पनि काम गर्नु परेको बताउँदै कच्ची सडक त्यसमाथि बर्खाको पानीले हिलाम्मे हुँदा यात्रा कष्टकर हुने गरेको उहाँले उल्लेख गर्नुभयो । होटेलको व्यवस्था सबैतिर नहुँदा यात्रु तथा चालकले खानाको पनि समस्या भोग्नु परिरहेको छ भने पानी पिउन पनि नपाइने अवस्थाले यात्रा अत्यासलाग्दो हुने गरेको उहाँको भनाइ छ ।
गाडीचालक चन्द्रबहादुर डाँगीले कर्णाली कोरिडोरको कालीकोट, बाजुरा र हुम्ला खण्डमा यात्रा गर्दा झर्को लाग्ने मात्र नभई सकसपूर्ण हुने गरेको बताउनुभयो । जे भए पनि यात्रा गर्नैपर्ने बाध्यता रहेको बताउँदै सडक चाँडो स्तरोन्नति गर्न आवश्यक रहेको उहाँको भनाइ छ । सर्केगाडबाट यात्रा सुरु भएदेखि नै कम्तीमा २० देखि २५ स्थानमा सडक अवरुद्ध हुने गरेको भोगाई उहाँले सुनाउनुभयो । सडक अवरुद्ध भएपछि हुम्लाबाट सुर्खेत आउने र जाने गाडीको ठाउँ ठाउँमा लस्कर लाग्ने गरेको छ । कच्ची सडक त्यसमाथि पानी पर्दा हिलाम्मे र खाल्टाखुल्डटी भएको सडक, धेरै स्थानमा पहिरो गइरहने भएको कारण यात्रा लामो र पट्यारलाग्दो हुनु स्वाभाविकै भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।