• २५ असार २०८२, बुधबार

नौ अस्पताल समितिविहीन

blog

खलङ्गा समाचारदाता  

दार्चुला, असार २५ गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत तीन महिनादेखि विकास समितिविहीन अवस्थामा छन् । त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ ।

अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न नसकिएको अस्पतालका प्रमुख डाक्टरको भनाइ छ । सुदूरपश्चिममा सेती र महाकाली प्रादेशिक अस्पताल नेतृत्वविहीन छन् । 

यस्तै दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा र डोटी जिल्ला अस्पताल नेतृत्वविहीन छन् भने कैलालीको टीकापुरमा रहेको जिल्लास्तरको हैसियत भएको टीकापुर अस्पताल पनि नेतृत्वविहीन रहेको सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका प्रमुख चेतराज जोशीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा छलफल चलिरहेको बताउनुभयो । विकास समितिले राम्रो काम ग¥यो कि नराम्रो गरिरहेको छ, समिति आवश्यक हो कि होइन भन्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । सो विषयमा अहिले मन्त्रालयमा मात्रै छलफल भएको तथा यसपछि प्रदेश सभामा छलफल गरेर अन्तिम निष्कर्ष निकालिने उहाँले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका अस्पतालमा चैत अन्तिम सातादेखि विकास समितिविहीन भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो । विकास समिति नहुँदा समितिबाट गराउनुपर्ने नीतिगत निर्णय, समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने कुरामा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । 

यस्तै समितिको नियमित बैठक, कर्मचारीको भत्ता र करारका कर्मचारीको म्याद थपका विषयमा केही अन्योल भएको उहाँले बताउनुभयो । २०७९ चैत २३ गते नियुक्त गरिएका अध्यक्ष र समितिका अरू सदस्यको पदावधि तीन वर्षपछि २०८२ चैत अन्तिम साता सकिएको छ । 

बझाङ जिल्ला अस्पतालका प्रमुख डाक्टर नवराज जोशीका अनुसार अस्पतालका संरचना निर्माण, राजनीतिक नेतृत्वसँगको समन्वय र कर्मचारीको म्याद थप गर्नेलगायतका विषयमा केही समस्या भएको छ । “अस्पतालमा थुप्रै कुराको विकासका लागि विकास समिति आवश्यक छ, सरकारले छिटो नयाँ कार्यसमितिलाई नियुक्ति गराइदिनु पर्छ,” उहाँले भन्नुभयो । 

बझाङ अस्पतालमा नियुक्त गरिएका करारका स्वास्थ्यकर्मीको म्याद थप्ने बेला पनि हुन लागेको छ । जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर कमलेशप्रसाद यादवले राजनीतिक सोर्सफोर्सबाट आएका विकास समिति पदाधिकारीले अस्पतालको विकास र नीतिगत निर्णयमा खासै चासो नदिने गरेको बताउनुभयो । “साँच्चिकै अस्पतालको विकास गर्ने हो भने भिजन भएको मानिसलाई अध्यक्ष बनाइनु पर्छ,” उहाँले भन्नुभयो ।

अस्पतालको आन्तरिक तथा बाह्य विकासका लागि सम्बन्धित जिल्लाको नगरपालिकाका प्रमुख, समन्वय समितिका प्रमुख अथवा प्रमुख जिल्ला अधिकारीलाई विकास समितिको अध्यक्ष बनाइनुपर्ने उहाँको धारणा छ ।

चालु आर्थिक वर्षको केही दिन मात्रै बाँकी रहेको हुँदा तत्काल समितिबाट गराउनुपर्ने खासै काम नभएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुशील विकले बताउनुभयो ।